चितवन– खैरहनी नगरपालिकाकाले चालू आर्थिक वर्षदेखि व्यवसायिक खेती गर्न इन्छुक विपन्न तथा गरिब किसानलाई जग्गा भाडामा अनुदान दिने भएको छ ।
विपन्न तथा गरिब किसानले व्यवसायिक खेती गर्न भाडामा लिएकाे जग्गाको शतप्रतिशत भाडा नगरपालिकाले तिरिदिने नगरप्रमुख शशी कुमार खनियाँले जानकारी दिए । ‘खेती गर्न इच्छुक गरिब, विपन्न छन्, घडेरी छ तर खेती गर्न जमिन छैन भने उहाँहरुले भाडामा लिएको जग्गाको रकम नगरपालिकाले तिर्ने छ ,’ उनले भने ।
किसान आफैँले भाडामा लिएको जग्गाको सम्झौताअनुसार नगरपालिकाले तिर्ने वा पालिकाले सार्वजनिक सूचना जारी गरेर जग्गा भाडामा लिएर विपन्नलाई दिने भनेर कार्यविधि बन्दै गरेको उनले बताए । ‘कति कठ्ठासम्मको जग्गाको भाडा उपलब्ध गराउने भनेर कार्यविधि तयार गरिँदै छ ।’ हाल एक वर्षको लागि जग्गाको भाडा सम्झौता गरिने र हरेक वर्ष पालिकाको बजेट अनुसार त्यसलाई नविकरण गरिने उनले जानकारी दिए ।
यस्तै, गत आर्थिक वर्षमा नगरपालिकामा ‘विपन्न करेसाबारी कार्यक्रम’ सञ्चालन गरिएको उनले बताए । विपन्न परिवारले घर वरिपरि तरकारि उत्पादन गरेमा चामल किन्ने रकम नगरपालिकाले उपलब्ध गराउने गरि उक्त कार्यक्रम सञ्चालन गरिएकाे उनले जानकारी दिए । उक्त कार्यक्रममार्फत ३९५ घरधुरीले चालम किन्ने रकम प्राप्त गरेको उनले बताए ।
संघ सरकारले गरिब तथा विपन्न समुदायको तथ्यांक संकलन गरेको भएपनि कार्ड उपलब्ध नगराएको उनले बताए । साे अवस्थामा दुई कठ्ठाभन्दा कम जग्गा भएको, कुनैपनि आर्थिक आम्दानीको नभएको परिवारलाई वडाको सिफारिसमा नगरपालिकाले विपन्न मानेको उनको भनाइ छ ।
दुईवटा अण्डा र दुई गिलास दुध खान पाउने गरेर प्रत्येक विपन्न बालबालिकालाई पोषण भत्ताको कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख खनियाँले जानकारी दिए । उनको अनुसार सुनौलो हजार दिनका विपन्न बालबालिकालाई पोषण भत्ता उपलब्ध गराइएको छ।
यस्तै, विपन्न परिवारका कक्षा १२ सम्म अध्ययन गरेका छोरीहरुलाई स्नातक पढाउन नसकेको अवस्थामा नगरपालिकाले पढाउने नगरप्रमुख खनियाँले बताए । 'घरबाट पढाउन नसकेका विपन्न छाेरीलाई नगरपालिकाले निःशुल्क स्नातक पढाउने कार्यक्रम छ,' उनले भने ।नगरपालिकाका २० स्थानमा बिहान २/३ घण्टा ‘होमवर्क क्लास’ सञ्चालन गर्ने योजना रहेको उनले बताए । साक्षरता कम भएको विपन्न वस्तीमा ‘होमवर्क क्लास’ स्थापना गरिने उनले पालिकाखबरलाई जानकारी दिए । उनले भने, 'पङ्खा, कार्पेटहरु ओछ्याइएको राम्रो वातावरण भएको कक्षा बनाइने छ ।'
गरिब तथा विपन्न समुदायका नि:शुल्क स्वास्थ्य बिमाको कार्यक्रम पालिकाले सञ्चालन गरिरहेको उनले बताए । ‘पाँच जनासम्म सदस्य रहेको परिवारको स्वास्थ्य बिमा नि:शुल्क गरिएको छ,’ उनले जानकारि दिए ।
ड्रागन खेती, च्याउ खेती, मार्बल/टायलसम्बन्धी तालिम, हाउस वाएरिङ तालिम, कपाल काट्ने, साबुन, हार्पिक बनाउने जस्ता तालिम नगरपालिकाले सञ्चालन गरेको उनले बताए । नगरपालिकाले विपन्न तथा गरिबहरुले उक्त तालिमबाट सिकेको सीपको प्रयोग गर्न चाहेमा नगरपालिकाले बीउ, पूँजीसमेत उपलब्ध गराउने उनले बताए ।
उनले भने, ‘गरिब तथा विपन्नको लागि ३०/४० ओटा प्रभावकारी कार्यक्रमहरु नगरपालिकाले ल्याएको छ । यसको लागि बजेट पनि छुट्याइएको छ ।