वीरगञ्ज । पर्सागढी नगरपालिकामा मानव सेवा केन्द्रको शिलान्यास गरिएको छ । वडा नम्बर ३ मा बुधबार एक समारोहमा नगरप्रमुख गोकर्ण पाठकले केन्द्रको शिलान्यास गरेका हुन् ।
दुई कोठे भवन निर्माणको लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये नगरपालिकाले चालू आर्थिक वर्ष २०७९ र ०८० मा १२ लाख र आमोदेवि मानव सेवा केन्द्रले ५ लाख रुपैँया बजेट विनियोजन गरिएको जनाइएको छ ।
केन्द्रका अध्यक्ष अशोक बुर्लाकोटीका अनुसार जेष्ठ नागरिक तथा सहाराविहीन व्यक्तिलाई आवासको व्यवस्थापन गर्नको लागि भवनको निर्माण गर्न लागेको हो । हाल कार्यालयको लागि भवन निर्माण भइरहेको उनले बताए । उनले शिलान्यास गरिएको दुई कोठा स्टोर र कार्यालयको लागि प्रयोगमा आउने जानकारी दिए ।
केन्द्र निर्माणको लागि २०७७ मा लगाएको महायज्ञबाट १९ लाख रुपैयाँ बचत भएको थियो । केन्द्रले उपभोग गर्नेगरी १५ कठ्ठा १६ धुर जमिन छुट्याएर राखेको छ । जसमा पालिकाले गत बर्ष १० लाख रुपैयाँ खर्च गरेर तारजाली लगाएर घेरिदिइसकेको उनले बताए ।