close

बेनीमा अतिक्रमित संरचना हटाइयो

बेनीमा अतिक्रमित संरचना हटाइयो

Trulli
ADVERTISEMENT

म्याग्दी । बेनी नगरपालिकाले विभिन्न  सडक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन लागेको हो ।  

व्यवसायीलाई अस्थायी टहरा, सटर, टङ्की र ठेला हटाउन अनुरोध गर्दै नगरपालिकाले गत मङ्सिरमा सार्वजनिक सूचना जारी गरेको थियो । 

भाडा सम्झौता नवीकरण नगरेको र सघन सहरी तथा भवन डिभिजन कार्यालयले सडक विस्तार योजनाको काम सुरु गरेपछि अस्वस्थित संरचना व्यवसायी आफैले हटाएका नगर कार्यपालिकाको प्रवक्तासमेत रहनुभएका ७ नम्बर वडाका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । 'तत्कालीन अर्थुङ्गे गाविससँग सम्झौता गरेर सार्वजनिक जग्गामा अस्थायी संरचना बनाएका व्यवसायीसँगको सम्झौता पछिल्लो समय नवीकरण नगरी विकल्प खोज्न भनेका थियौँ,' उनले भने, 'यसअघिनै सार्वजनिक सूचना जारी गरेर ठाउँ खाली गर्न भनेका थियौँ, सडक विस्तारको काम सुरु भएपछि व्यवसायी आफैले संरचना हटाउनु भएको हो ।' 

जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिका १५ वटा सटर र टङ्की व्यवसायी आफैले भत्काएर सामान, फर्निचर लगेका हुन् । ठेलामा फलफूल व्यवसाय गर्दै आएका दरवाङ बसपार्कमा सरेका छन् । सवारी साधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि हटाइएको नगर प्रमुख सुरत केसीले बताए । 

हटाइएकामध्य केही व्यवसायीले सार्वजनिक जग्गा प्रयोग गरेबापत वषाैैंदेखिको भाडासमेत तिरेका थिएनन् । यसअघि गत पुस १५ गते नगरपालिकाले काली पुल बसपार्क ढलान गर्न त्यहाँ रहेको यातायात कम्पनीको टिकट काउन्टर र रेष्टुरेष्ट हटाएको थियो । बजारका अन्य ठाउँका अतिक्रमित र अव्यवस्थित संरचना पनि खाली गराउन ताकेता गरिएको नगर प्रमुख केसीले बताए । 

व्यवसायी रहमद खाँनले भने दशकौँदेखि व्यवसाय गर्दै आएको ठाउँबाट विस्थापित हुँदा रोजगारी र आम्दानी गुमेको गुनासो गरे । नगरपालिकाले प्रतिबद्धता अनुसार वैकिल्पिक ठाउँमा व्यवसाय गर्ने वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ । सघन सहरी तथा भवन डिभिजन कार्यालयले प्रशासन, जिल्ला समन्वय समिति, बेनी सामुदायिक मावि, पुस्तकालय र नगरपालिकाको कार्यालय अगाडिको क्षेत्रमा सडक विस्तार, ढलान, ढल व्यवस्थापन र नाली निर्माणको काम सुरु गरेको छ । 

कार्यालयसँग यही फागुन पहिलो हप्ता रु ७५ लाख पाँच हजार नौ सय २६ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनी भगवती मालिका कन्ट्रक्सनका सञ्चालक विजय भट्टचनले काम तीव्र रुपमा अगाडि बढाएको बताए । आगामी असार मसान्तभित्र सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य छ । 

धुलाम्मे, हिलो र डुवानको समस्या समाधानका लागि सिफारिस गरिएको योजना कार्यान्यन थालिएको जिसस प्रमुख राजकुमार थापाले बताए। जिससको सिफारिसमा सघन सहरी तथा भवन डिभिजन कार्यालयले यो योजना कार्यान्वयन गरेको उनले बताए ।