सर्लाही । हरिपुर्वा नगरपालिकाले तय गरेको विशेष अधिवेशन हाललाई स्थगित गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।
त्यस्तै, निर्वाचन आचारसंहिताविपरीत हाल किन अधिवेशन गर्नुपरेको हो भनी दुई दिनभित्र स्पष्टीकरण पेस गर्न प्रमुख र प्रशासकीय अधिकृतलाई निर्देशन पनि दिएको छ ।
आयोगले नगरसभा सदस्य र केही पार्टीका तर्फबाट परेको उजुरीका आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमति बेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण गराउँदै असोज १२ गतेका लागि विशेष अधिवेशन आह्वान गरी गणपूरक संख्या नपुगेको कारण उक्त मितिमा सञ्चालन हुन नसकी २ कात्तिकमा बोलाइएको बोलाइएको अधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिएको हो ।
‘नेपालको संविधानबमोजिम स्थानीय तहको कार्यकारिणी अधिकार नगर कार्यपालिकाले र व्यवस्थापकीय अधिकार नगरसभाले गर्ने विषयमा कुनै दुईमत छैन । यद्यपी निर्वाचनको सम्मुखमा विशेष अधिवेशन बोलाई नयाँ नीतिगत निर्णय गर्नु निर्वाचन आचारसंहिताको अनुकूल हुँदैन,’ स्पष्टीकरणपत्रमा भनिएको छ ।