close

अन्धविश्वासले घर-सम्पत्ति छाडेर सडकमा पुर्‍यायो

अन्धविश्वासले घर-सम्पत्ति छाडेर सडकमा पुर्‍यायो

Trulli
ADVERTISEMENT

बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमान खोला । त्यही छाप्रोमा बस्छन् ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ । ढोरपाटन नगरपालिका–२ दुलेमा पर्ने बस्ने दर्जी परिवारको अवस्था निकै दयनीय छ ।

छाप्रो बनाएको ठाउँ पनि देवीरामको होइन । सार्वजनिक ठाउँ भए पनि नजिक जग्गा हुनेले आफ्नो दाबी गर्दै छोड्न दबाब दिन्छन् । उनको सम्पत्ति ढोरपाटन नगरपालिका–३ सामागाउँमा छ । गाउँमा एउटा घर, गोठ र केही जग्गा जमिन पनि छ । तर उनी कहिल्यै त्यो घरमा जानुहुन्न । घर सम्झिँदा पनि उनी झसङ्ग झस्किन्छन् । उनी झस्किनुको कारण अन्धविश्वास हो । तीन वर्षमा परिवारका आठ सदस्यको मृत्यु भएपछि दर्जी घर अशुभ भएको भन्दै नौ वर्ष अगाडि परिवार लिएर गाउँ छाडेका हुन् । 

दर्जी भन्छन्, “तीन वर्षमा मेरो तीन भाइ छोरा, दुई बहिनी छोरी, आमाबाबु र छ वर्षको भतिजी मरे, मेरो छोराछोरी ठुल्ठूलै भएर मरे, त्यो सम्झिँदा मन भक्कानिन्छ, म त निकै ठूलो पिर परेर घरबारी छाडेर यो बाटोमा आएको हुँ।”

घरमा वर्षैपिच्छे दुई जना परिवारका सदस्यको मृत्यु भएपछि ज्योतिषकहाँ गएको र ज्योतिषले घरमा राक्षसले बास गरेको छ भनेपछि घर छाडेका उनी बताउँछन् । 

अहिले दर्जीका कान्छा छोरा, जेठी र साइली छोरी जीवितै छन् । छोरीहरू विवाह गरेर आफ्नो घरमा छन् भने कान्छा छोरासहित श्रीमती, नाति, नातिनी र बुहारी उहाँसँगै बस्दै आएका छन् । दर्जीलाई छ जनाको परिवार पाल्न अहिले हम्मेहम्मे भएको छ । घर सडक छेऊमा हुँदा गाडी गुड्दा हिलो र धुलोले ढाकिने गर्छ ।

दर्जीले अहिलेसम्म आफूले गिट्टी कुटेर, बालुवा बोकेर र मादल बेचेर परिवार चलाउँदै आएको भन्दै आफ्नो बूढेसकाल लागेपछि परिवार पाल्न गाह्रो भएको बताए । छोराले पनि काम नपाएर यत्तिकै घरमा बस्ने गरेको भन्दै आफूलाई कसैले सहयोग नगरेको गुनासो गरे । 

दर्जीकी श्रीमती मीना पुरानो घरमा बसेको भए आफूहरू पनि अहिलेसम्म जिउँदो नरहने बताउँछिन् । “हामी नौ वर्ष पहिले घर छाडेर यहाँ आएको हौ, त्यसबेला घर नछाडेको भए अहिलेसम्म हामीहरु जिउँदो रहने थिएनौँ, अझै पहिले नै घर छाडेका भए हाम्रा छोराछोरी पनि बाँच्ने रहेछन्, ढिलो बुद्धि आयो”, उनी भन्छिन्, “ज्योतिषले अशुभ नभनेको भए अहिलेसम्म हामीहरू सबै मरिसक्थ्यौँ होला ।”