close

भत्काइए थापाथलीस्थित बागमती किनारका  अनधिकृत संरचना

भत्काइए थापाथलीस्थित बागमती किनारका  अनधिकृत संरचना

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती किनारका अनधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर बागमती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो ।

यी संरचना हटाउन उक्त समितिले गत माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो । त्यसबेला विभिन्न समूहको दबाबमा काम रोकिएकामा अहिले काठमाडौं महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । 

त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पूजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ । थापाथली क्षेत्रमा सुकुम्वासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ । सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन् ।

राजधानीमा सुकुम्वासीका नाममा नदी किनारका सार्वजनिक जग्गा कब्जा गर्नेले सबैभन्दा बढी नदी प्रदूषित बनाउँछन् । सुकुम्वासीलाई इचङ्गुनारायणमा आवासीय भवन निर्माण गरेको वर्षौँ बिते पनि सर्न मानेका छैनन् । राजधानीको मुटुमा रहेको नदी किनारमै बस्न पाउनुपर्ने माग सुकुम्वासीका नाममा हुँदै आएको छ ।