close

६ वर्षमा पनि सकिएन ४ किमी सडक, बनेको पनि भत्किएर बिजोग

६ वर्षमा पनि सकिएन ४ किमी सडक, बनेको पनि भत्किएर बिजोग

Trulli
ADVERTISEMENT

भरतपुर । झन्डै ६ वर्ष हुँदा पनि भरतपुरको ४.४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । 
सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो । सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ ।

सो सडकखण्डमा बनाइसकेको कालेपत्र भत्किन सुरु भइसकेको छ । ठाउँ–ठाउँमा बनेका खाल्डाले दुर्घटनाको जोखिम बढेको छ । भरतपुर महानगरपालिका–११ का स्थानीय महेन्द्र पाण्डेले सडक निर्माणमा चरम लापरबाही गरेको आरोप लगाए । 

बाइपास सडक विस्तारको काम दुई प्याकेजमा गरिएको छ । केन्द्रीय बसपार्क चोकदेखि विशाल चोकसम्मको जिम्मा गौरी पार्वती निर्माण सेवा र विशाल चोकदेखि आँपटारीसम्मको जिम्मा रायमाझी पशुपति जेभीले पाएका हुन् ।

बसपार्क चोक–विशाल चोक खण्डको काम डेढ वर्षदेखि ठप्प जस्तै छ । बिजुलीका पोल नहटेको र मेडियन निर्माणमा स्थानीयको अवरोध भएको भन्दै ठेकेदार कम्पनीले काम रोकेको छ । यस खण्डको पश्चिमपट्टि नाला बनाउने काम अधुरो छ । बाँकी काम चाडपर्व र निर्वाचन सकिएपछि मात्रै सुरु हुने सडक डिभिजन कार्यालयले जनाएको छ । 

सडक, खानेपानी, विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकाय पहिला छलफल गरेर काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । पन्ध्र महिनामा सक्नुपर्ने यस खण्डको काम झन्डै छ वर्षमा ९० प्रतिशत पुगेर अड्किएको छ ।