close

दशैं आयो, खै त रोटे र लिङ्गे पिङ ?

दशैं आयो, खै त रोटे र लिङ्गे पिङ ?

Trulli
ADVERTISEMENT

बागलुङ । “उति बेला दशैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरू सबै हराए ।” बागलुङ निसीखोला–४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित छिन् । 
जब–जब दशैँ तिहारजस्ता पर्व आउँछन् तबतब उनलाई पुराना दिनका सम्झनाले सताउँछ । पिङ हालेको, खेलेको र रमाइलो गरेको याद उनका मानसपटलमा अझै ताजै छन् । उनी भन्छिन्, “दशैँ आयो भने मान्छे सबैभन्दा पहिले पिङ खेल्ने सम्झिन्छन्, उहीले पिङ बनाउने र खेल्ने चलन निकै थियो, कसले संरक्षण गर्ने ? युवा पुस्ताले चासो दिएनन् ।”

पिङले आफन्त र धेरै समयदेखि छुटेका सङ्गीसाथीसँग भेटाउने र आत्मियता बनाउने काम गर्थ्यो । सुख, दुःख र वेदनाका कुरा गर्ने अवसर पिङले जुराउथ्यो । उनले भनिन्, “अहिले पिङ पनि बनाउँदैनन्, आफन्तसँग भेट हुन पनि पाइँदैन, फोनमा कुरा गर्‍यो, फोनमै भट्यो ।”

स्थानीय ७० वर्षीय नरबहादुर क्षेत्रीले विस्तारै समाजका युवाले आधुनिक कला संस्कृतिलाई अँगाल्न लागेपछि पिङप्रति बेवास्ता बढेको बताए । मेला महोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत लिङ्गे पिङप्रति चासो हराउन थालेको छ । 

“जमाना फेरिए, मान्छेको आनीबानी पनि फेरियो, मेला महोत्सव लाग्यो भने आधुनिक प्रविधिको बिजुलीबाट चल्ने पिङ खेल्ने गर्छन्, लिङ्गे पिङ त देख्न पनि छोडियो ।” उनले भने । 

उनले दशैँ आउनुभन्दा एक हप्ता पहिले नै गाउँमाथिको डाँडामा मान्छेहरु जम्मा भएर बाँसको लिङ्गा गाड्ने र बाबियो काटेर लुठो बाट्ने गरेको स्मरण गर्दै अहिले त्यो परम्परा सङ्कटमा परेको बताए ।