काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५८ वर्षीया पार्वती धामी ठेलागाडामा मकै पोलेर बेच्छिन् । साँझ-बिहान झरी नभनी आफ्नो छाक टार्न काम गर्छिन् । वृद्ध अवस्थामा पनि उनको सहारा ठेलागाडा बनेको छ । उनले करिब ६ वर्षयता मकै पोलेरै साँझबिहानको जोहो गरिरहेकी छन् ।
‘पानी पर्यो भनेर घरमै बसेँ साँझ भोकै बस्नुपर्छ ।’ उनले भनिन् , ‘मकै बेचेर आएको पैसाले साँझ बिहान खान ठिक्क हुन्छ । यसबाट दैनिक पाँच सय जति आम्दानी हुन्छ ।’ दोधारा चाँदनीबाट प्रतिकेजी रु ४० मा मकै खरिद गरेर महेन्द्रनगर बजारमा बेच्ने गरेको धामीले बताइन् । ‘पोलेको मकै एउटा २५ रुपैयाँमा बिक्री गर्छु मेरो पेट पाल्न ठिकै भएको छ ।’ उनले भनिन्, ‘मकै बेचेर आएको पैसाले चामल खरिद गरेर लग्छु साँझ बिहानलाई पुग्छ । दिनमा काम नगरे साँझ चुलोे बाल्नै मुस्किल हुन्छ । ’
विसं २०५८ मा श्रीमान् बेपत्ता भएपछि उनी एक्ली भइन् । उनी दार्चुलाको मालिकार्जुन–३ निवासी धामी हाल महेन्द्रनगरस्थित कटानमा कोठा भाडामा लिएर बस्दै आएकी छन् । ‘एउटी छोरी थिइन् छोरीको पनि बिहेपछि श्रीमान्ले अर्को बिहे गरेर छोड्यो,’ उनले भनिन्, ‘अहिले छोरीको सहारा म मेरो सहारा छोरी भएका छौँ ।’ धामीकी छोरी लक्ष्मी पनि महेन्द्रनगर बजारमै आइसक्रिम बेच्छिन् ।
‘छोरीको कमाइले कोठाभाडा तिर्न र अरू खर्च चलाउन पुग्छ,’ उनले भनिन्, ‘अहिले सबै कुरा महँगो भएको छ । साँझबिहानको चुलो बाल्नै मुस्किल छ ।’
छोरी लक्ष्मीले मौसमअनुसारको व्यवसाय गर्ने उनले बताइन् । ‘जतिबेला जे काम पायो त्यही गर्छु काम गरेर खानु छ,’ उनले भनिन् ,‘दैनिक मजदूरी गरेर खान लाउन ठिक्क भएको छ ।’ सानै उमेरमा बिहे गरेकी लक्ष्मीले श्रीमान्ले दोस्रो बिहे गरेपछि निकै समस्या झेल्नु परेको बताइन् ।
‘अहिले आमासँगै बस्दै आएको छु मेरो सहारा आमा, आमाको सहारा म छु,’ उनले भनिन् ,‘सरकारले दिएको एकल भत्ताले राहत भएको छ ।’