गोरखा । गण्डकी गाउँपालिकाले तोमनडाँडामा मुख्य सेवा केन्द्र खोलेर सेवा प्रवाह सुरु गरेको छ ।
गाउँपालिकाले पालिकाभित्रका सबै वडाका नागरिकलाई पायक पर्ने गरी वडा नं ६ स्थित तोमनडाँडामा मुख्य सेवा केन्द्र आजदेखि सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए ।
गाउँ कार्यपालिकाको बैठकले मुख्य सेवा केन्द्र खोल्ने निर्णय गरेर सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । तोमनडाँडामा सेवा केन्द्र रहँदा राजमार्गबाट पनि नजिक पर्ने तथा पालिकाभित्रका सबै वडाबाट सार्वजनिक सवारी साधनमासमेत सजिलै आउजाँउ गर्न सकिने भएकाले तोमनडाँडामामै सेवा केन्द्र सुरु गरिएको अध्यक्ष तिमिल्सेनाको भनाइ छ ।
“अहिले केन्द्र रहेको भुम्लिचोकमा सेवा लिन आउजाउका लागि नागरिकले हैरानी खेप्दै आउनुपरेको छ”, उनले भने, “यो ठाउँ पालिकाभित्रका सबै वडाबाट सुगम पनि पर्ने भएकाले प्रशासनिक काम यहीबाट सञ्चालन गर्ने गरी मुख्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।”
गाउँपालिकाले तत्कालका लागि विद्यालयको नाममा रहेको तर उपयोगमा नरहेको खाली भवनबाट सेवा केन्द्र सुरु गरेको अध्यक्ष तिमिल्सेनाले बताए । मुख्य सेवा केन्द्रबाट गाउँपालिकावासीले सबै प्रकारका प्रशासनिक सेवा प्राप्त गर्ने उनको भनाइ छ । गएको शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले तोमनडाँडामा पालिकाको मुख्य सेवा केन्द्र खोल्ने निर्णय गरेको थियो ।