म्याग्दी । एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना प्रस्तुत गरेकी छन् ।
रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान एक तोलाको सुनको सिक्री भेटिन् ।
बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर नजिकको सडकमा साधनाले सुनको सिक्री भेट्टाएकी हुन् ।
बाटोमा सुनको सिक्री भेट्टाएपछि साधनाले उक्त सिक्री जिल्ला प्रहरी कार्यालयमा लगेर बुझाइन् ।
उक्त सिक्री पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीको रहेछ ।
सागरले हराएको सुनको सिक्री आफ्नो भएको प्रमाणसहित प्रहरी कार्यालय पुगे ।
सिक्री सागरको रहेको पुष्टि भएपछि साधनाले सिक्री हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।