close

वालिङका महिला सामूहिक बाख्रापालनमा

वालिङका महिला सामूहिक बाख्रापालनमा

Trulli
ADVERTISEMENT

स्याङ्जा । वालिङ नगरपालिका-६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका छन् ।

स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो । आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर गाउँका महिला भेला भई समूह बनाएर व्यवसाय थालेको समूहकी अध्यक्ष तुलसीकुमारी थापाले बताइन् । “आँफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमान्मा मात्रै आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने लाग्यो”,उनले भनिन्, “गाउँका इच्छुक महिला दिदीबहिनीको समूहमा कुरा राख्यौँ, छलफल गर्‍यौँ र सामूहिक बाख्रापालन थाल्ने निष्कर्षमा पुगेका हौँ ।”

गाउँ नजिकै वनजङ्गल हुँदा खासै घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रापालनलाई व्यावसायिक रुपमा अगाडि बढाउन महिलाहरू सक्रिय भएर लागेका हुन् । “गाउँ नजिकै वनजङ्गल हुँदा पनि घाँसको समस्या छैन”,उनले भनिन्, “सामूहिकरुपमा बाख्रा चराउन, औषधि उपचारसहित उत्पादन भएका खसी बोका बिक्रीकालागि पनि सहज हुने विश्वासमा छौं ।”

समूहमार्फत अहिले दश घरमा ६ देखि १० वटा बाख्रापालन गरिएको छ । सुरुआती चरणमा थोरै सङ्ख्याबाट व्यवसाय थालेपनि आगामी दिनमा सङ्ख्या बढाउने समूहको योजना रहेको सचिव कृष्णचन थापाले बताए । “अब परम्परागत होइन, सामूहिकरुपमा उन्नत जातका बाख्रापालनतर्फ अगाडि बढेका छौँ”, उनले भने, “उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको र तुरुन्तै आम्दानी हुने भएकाले पनि समूहको रोजाइमा बाख्रापालन परेको हो ।”

समूह सञ्चालनकालागि बेला बेलामा बैठक तथा छलफल हुने गरेको छ । समूहकै कामको खर्चका लागि मासिकरुपमा एकसय सङ्कलन गरेर सामान्य खर्चहरू चलाउने गरिएको सचिव थापाले बताए । 

पहिले घर घरमा एक दुईवटा बाख्रापालन गरेका यहाँका महिलालाई व्यावसायिकतातर्फ लाग्न वालिङ नगरपालिकाले अभिप्रेरित गरेको हो । नगरपालिकाले बाख्रापालनका लागि महिला समूहलाई आवश्यक तालिम, प्राविधिक सल्लाह तथा परामर्श, औषधि, उन्नत जातको घाँसको बीउ उपलब्ध गराएको पशु विकास शाखा अधिकृत देवकुमारी श्रेष्ठले बताइन् । 

नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा खोर मर्मत तथा निर्माणका लागि जनही १०/१० हजार नगद र उन्नत जातको 
एउटा बोयर बोका उपलब्ध गराएको उनले बताइन् ।