close

काभ्रेमा ३० भन्दा बढी मिटरब्याजी विरुद्ध उजुरी

सहकारी प्रबन्धक र सञ्चालकविरुद्ध पनि उजुरी

काभ्रेमा ३० भन्दा बढी मिटरब्याजी विरुद्ध उजुरी

सहकारी प्रबन्धक र सञ्चालकविरुद्ध पनि उजुरी

Trulli
ADVERTISEMENT

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ ।

१७ व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ ।

सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा अपिल गरेको थियो ।

सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ ।

काभ्रेमा भने सरकारले उजुरी दिन आह्वान गर्नुअगावै केही मिटरब्याजी पीडितको भागाभागसमेत भएको थियो । यस्तै हाल पनि केही पीडित सम्पर्कविहीन अवस्थामा रहेका बताइएको छ । 

मिटरब्याजीले पीडितसँग रकम लिनुअगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले केही पीडितलाई चेक अनादर मुद्दामा कारागारसमेत पठाएको घटना सार्वजनिक भएका छन् ।

मिटरब्याज लिनेमा सहकारी संस्था पनि रहेका छन् । केही सहकारीका प्रबन्धक र सञ्चालकविरुद्ध पनि कार्यालयमा उजुरी दर्ता भएको जनाइएको छ ।