धनगढी । हेर्दा रानाथारु समुदायको पहिरन मात्र होइन, उनीहरूका गरगहना पनि आकर्षित छन् । गहनाका रूपमा उनीहरू (अगियाँ) चोली र (घघरीया) गुन्यूमा चाला, कंचट लगाउँछन् । खुट्टामा चाँदीको बिच्छु, काँसाको गोलो बनाएर पैडा, पैडाको तल ढुन्नी लगाउने गरेको धनगढी उपमहानगरपालिका-७ की सीता रानाले भनिन् । उनले पायल पनि लगाउने गरेको बताइन् ।
‘मालाका रूपमा गरेला, चाँदीको हार, सुनको नग्वेसर, कानमा वीर, उफनको डल्लो बनाएर फुलवा र गुट्का, ह्सुलिया, चाँदीका सिक्काको माला लगाउने गर्छौँ,’ धनगढी उपमहानगरपालिका-१३ की पार्वती रानाले भनिन् । ‘तर, अहिले यी गहनाहरू विरलै देख्न पाइन्छन् । केहीले गहना बेचिसकेका छन् भने केहीले भएका गहना पनि जतन गरेर राख्न नसक्दा हराएका छन्’, उनले भनिन् ।
यस्तै, फतुईः कपडामा चाँदीको सिक्का सिएर घाँटीमा लगाउन बनाइएको माला लगाउने गरेको सीताको भनाइ छ । हातमा बालाका रूपमा सुनचाँदीको गोलो घेराजस्तो साम, खडुवा, पहुँची, नाकमाः मुदडी, हातको कुममा लगाउने लगौरा, उनको र सिक्काको लगाउँछन् ।
मौलिकता बिर्सिदैं नयाँ पुस्ता
केही वर्ष अघिसम्म आफ्नै हातले सिलाइएको पहिरन लगाउने राना समुदायका महिला अहिले बजारिया कपडाहरू लगाउन थालेका छन् । उनीहरूले लगाउने पोसाकलाई घघरिया (गुन्यू) र अगियाँ (चोली) भन्ने गरिन्छ ।
पहिले सबै महिला यही पोसाक लगाउने गर्दथे । आधुनिकताको प्रभावले नयाँ पुस्ता कुर्ता, सलवार र पाइन्ट—टिसर्ट लगाउन थालेका छन् । जसका कारण अहिले घघरिया लगाउने महिला राना समुदायमा निकै कम देखिन थालेका छन् ।
नयाँ पुस्ताले आफ्नो मौलिकता बिर्सदै गएको छन् । बालबालिकाहरू कपडा सिलाउन बजारमा जान थालेका छन् । अहिले परम्परागत पहिरन लगाउनेको संख्या घट्दै गएको जानकी रानाले बताइन् ।
‘विवाह, विशेष पर्व, होली, तीजमा परम्परागत पहिरनको खोजी हुन थालेको छ’ उनले भनिन्, ‘मौलिक पहिरन अहिले फेसन बन्न थालेको छ । आधा उमेर घघरिया र अगियाँ लगाएर काट्यौँ ।’
मौलिक पोसाक लगाउँदा बेग्लै आनन्द आउने गरेको बताउँदै राम दुलारी रानाले भने, ‘बजारका बनिबनाउ लुगा लगाउने नयाँ पुस्ताका बच्चाहरूलाई के थाहा आफ्नो पोशाकको महत्त्व ।’ उनले एक जोडी कपडा तयार पार्न तीन चार महिना लाग्ने भएकाले पनि परम्परागत पहिरन लोप हुँदै गएको बताए ।
‘रंगीविरंगी कपडाले बन्ने राना पहिरन तयार पार्न पहिलेको तुलनामा महँगो पर्ने भएकाले पनि अहिले बनाउन छोडिएको हो’, उनले भने, ‘एक जोर परम्परागत पहिरन तयार हुने पैसाले दुई जोर बजारका कपडा किन्न सकिन्छ । मौलिक पहिरन तयार पार्न समय बढी लाग्ने त्यसमाथि पनि महँगो पर्ने भएकाले पनि धेरैले लगाउन छोडेको छन ।’
संरक्षणको अभाव
राना समुदायका पुराना पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसकेको ७० वार्षिया छिद्दो रानाले भने, ‘आनुनिकतामा रमाइरहेका नयाँ पुस्ताले आफ्नो परम्परागत संस्कृति सिक्न खोज्दैनन् । त्यसैले पनि लोप हुँदै गएको छ ।’
नेपालमा अल्पसंख्यामा रहेको राना समुदायको पहिचान लोप भइरहेको भन्दै बिट्टो देवी राना चिन्ता व्यक्त गर्छिन् । आफ्नो परम्परागत पहिरनलाई तयार पार्दा आवश्यक पर्ने कपडाका टुक्रा, बुट्टा भर्न चाहिने ऊन, ठाउँ—ठाउँमा राख्न चाहिने ऐनाका स—साना टुक्रा आदि किन्दा खेरी अहिले महँगो पर्ने गरेका कारण पनि अहिले परम्परागत पहिरन बनाउनेको संख्या घटेको उनी बताउँछिन् ।
‘पहिरन बनाउँदा विभिन्न रङका कपडाको मिश्रण अनि त्यसलाई कलात्मक रूपमा सजाउनु पर्छ । त्यसैले पनि सबै पहिरन तयार पार्दा १० हजार बढी खर्च आउँछ, त्यति रकम सबैसँग हुँदैन’ सुदूरपश्चिम प्रदेशसभा सदस्य मालामती रानाले भनिन्, ‘रानाथारुको पहिरनसहितको संस्कृतिको जर्गेना गर्नका लागि धनगढीमा संग्रहालयको स्थापना गरिने छ ।’
केही महिला भने अहिले पनि आफ्नै पोसाक सलाउँदै लगाउने गर्दछन् ।धनगढी उपमहानगरपालिका-१३ की ६० वर्षीया छविला रानाले भनिन् ‘म आफ्नो पोसाक आफैँ सिउने गर्दछु । दैनिक चार घण्टा समय पाए भने एउटा घघरिया तीन महिनामा तयार गर्न सक्छु’
साँझबिहान घरको काम सकेर दिउँसो र रातको समयमा परम्परागत अगिया, चोली, घघरिया र गुन्यु सिउनु उनको दैनिकी बनेको छ ।