close

सुनकोसी गाउँपालिकामा बर्थिङ सेन्टर नहुँदा समस्या

सुनकोसी गाउँपालिकामा बर्थिङ सेन्टर नहुँदा समस्या

Trulli
ADVERTISEMENT

काठमाडौं । सुनकोसी गाउँपालिकामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् ।

सुनकोसी गाउँपालिका-९ कटुन्जे स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा नर्स स्टाफ नहुँदा लालीमाया खत्री रापचाले बाटोमै बच्चा जन्माएकी हुन् । 

आइतबार घरदेखि स्वास्थ्यचौकी ल्याउने क्रममा बाटोमै बच्चा जन्माएकी हुन् ।

उनीहरूले केही दिनअघिदेखि स्वास्थ्य चौकीमा नर्सिङ स्टाफ भए/नभएको बारेमा सोधेका थिए । स्वास्थ्य चौकी प्रमुख भानुभक्त बास्तोलाले नर्सिङ स्टाफ नभएकोले अस्पताल लैजान सुझाव दिएका थिए ।

आइतबार सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै उनले छोरा जन्माएकी हुन् । सुत्केरी गराउने काममा स्वास्थ्य स्वयंसेविका मुना श्रेष्ठले सहयोग गरिन् ।

स्वास्थ्यचौकी प्रमुख भानुभक्त बास्तोलाले दुई जना नर्सिङ स्टाफको दरबन्दी भएकोमा एक जना सुत्केरी विदामा घर बसेको र अर्को एक जनालाई गाउँपालिकाले काजमा सरुवा गरी गाउँपालिका केन्द्र रहेको स्थान मुलखर्क स्वास्थ्य चौकीमा पठाएको बताए ।

‘उहाँहरूले बाटोमै सुत्केरी गराएर आमा र बच्चा लिएर स्वास्थ्य चौकी ल्याउनु भएको छ,’ प्रमुख बास्तोलाले भने, ‘अहिले बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य छ । हामीले सक्ने व्यवस्थापन गरिदिएका छौं । नर्सिङ स्टाफ नहुँदा समस्या चाहिँ भएकै हो ।’

सोही वडाका अध्यक्ष हितराज कार्कीले स्वास्थ्य व्यवस्थापन समिति मार्फत निर्णय गरेरै दरबन्दी अनुसारको नर्सिङ स्टाफ पूर्ति गर्न माग गरे पनि पालिकाले उल्टै काजमा लगेको बताए ।

स्थानीयले भने यसबाट परेको असुविधा र असरप्रति पालिका जिम्मेवार बन्नुपर्ने बताउँदै आएका छन् ।

नर्सिङ स्टाफ विहीन बनाएर कुनै पनि स्वास्थ्य चौकी राख्दा अकालमा सुत्केरी र अन्य बिरामीको ज्यान जानसक्ने भन्दै स्थानीय अगुवाले गुनासो गरेका छन् । गरिबी र चेतनाको कमीले गर्दा महिलाहरूलाई अझै घरमै सुत्केरी गराउने क्रम रोकिएको छैन ।