बागलुङ । १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइेत तथा अपाङ्गता भएकालाई मासिक भत्ता दिने भएको छ ।
पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको थियो । गाउँपालिकाको कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगमी महिनादेखि शहीद, बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने ताराखोला गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा शसस्त्र द्वन्द्वका क्रममा राज्यको तर्फदेखि २१ जना शहीद र दुई जना वेपत्ता भएका थिए भने बिद्रोही माओवादीको तर्फबाट चार जना शहीद गरी २७ जनालाई मासिक एक हजार ५००का दरले भत्ता दिने निर्णय गरेको ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विकले जानकारी दिए ।
गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भिर घाइते भएका छन् भने अन्य केही सामान्य घाइते भएका छन् ।
ताराखोला गाउँपालिकाका शहीद बेपत्ता तथा घाइतेको योगदानले स्थापित एक स्थानीय तह भएकाले थोरै भएपनि उहाहरुको योगदानलाइ सम्बोधन गर्न खोजिएको गाउँपालिका अध्यक्ष विकले बताए ।
यस्तै पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएको परिवारलाई रोजगारी दिने गरी नीति ल्याएको छ । पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ । त्यस्तै पालिकाले करार शिक्षक, बालविका सहजकर्ता र बिद्यालय कर्मचारी पारिश्रमिक सम्बन्धी कार्यविधी २०७९ समेत स्वीकृत गरेको छ ।
कार्यबिधिमा विद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई एक हजार र विद्यालय लेखापाललाई तीन हजारका दरले वृद्धि गर्ने उल्लेख गरिएको छ ।