गोरखा । आरुघाट गाउँपालिकाका १६८ घर पहिरोको जोखिममा परेका छन् ।
लगातार भएको वर्षा र पहिरोका कारण आरुघाट-१ श्याम्चेतका १६८ घरधूरी जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।
सो क्षेत्रका घरहरू पहिरोको जोखिम भएसँगै गाउँपालिकाले सुरक्षित क्षेत्रमा स्थान्तरणका लागि पहल गर्दै आएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । २०७४ सालदेखि हरेक वर्षजसो जग्गा चर्किने, धस्किने गरेको र ३ पटक पहिरो नै झरेको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार पहिरो गएपछि बस्तीलाई बचाउनका लागि गाउँपालिकाको पहलबाट ग्याभिन पर्खाल लगाएको थियो । तर, दोस्रो वर्षको पहिरोले ती पर्खाल पुन: भरियो र फेरि पर्खाल लगाइयो । तर, गत असार ५ गते गएको पहिरोले ती पर्खाल पुरिएसँगै सो क्षेत्रको बस्ती उच्च जोखिममा परेको उनले बताए ।
जोखिम बस्तीलाई सुरक्षित स्थानान्तरण गर्नका लागि आवश्यक स्थान खोज्ने काम भइरहेको उनले बताए । साथै स्थानान्तरण गर्नका लागि गैरसरकारी संस्था तथा सहयोगीहरूलाई एक भिडियोमार्फत् सहयोगका लागि अनुरोधसमेत गरेका छन् ।