close

घर-घरमा खानेपानी पुगेपछि दुर्गम सुडीगाउँमा हरायो काल समय

घर-घरमा खानेपानी पुगेपछि दुर्गम सुडीगाउँमा हरायो काल समय

Trulli
ADVERTISEMENT

जुम्ला । कुनैबेला पानी नपाएर सुख्खा बन्ने जमिन, भोकमरीको पीडा, मैलिएका लुगा, फाटेका अनुहार र घन्टौँ पानीको धारोमा समय खर्चिनुपर्ने सुडीबासीको बाध्यता थियो । 

पानी अभावका कारणले छट्पटी रहेको स्मरण दुई वर्षयता सुडिबासीको मानसपटलबाट हराउँदै गएको छ । 

२०७७ सालमा एक घर एक धारोको अवधारणाअनुसार अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा साझेदारी सहयोगकेन्द्र पेस नेपालले सञ्चालन गरी घरघरमा पानी पुगेपछि यहाँका मानिसमा सपनाजस्तै भएको छ ।  

नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकुलन परियोजनामार्फत् ८४, ८५, ५१७ रकमको लागतमा १०८ धारा बनेपछि विगतका पानीको पीडादायिक सुडीबासीका कथा समाप्त भए ।

यो बस्ती तिला गाउँपालिकाको मुटु डुण्डेलीदेखि करिब १६ किलो मिटर दक्षिण–पूर्वमा पर्छ । तिला गाउँपालिकाको मुटु डुन्डेली भने कर्णाली राजमार्गमा पर्छ । 

गाउँमा पानी ल्याउनुपूर्वको इतिहास भने दर्दानात्मक छ । सुडी निवासी ६७ वर्षीया लडु रावत र उनका बच्चा आजकाल आगनमै पानी भर्न पाएपछि खुसीको रौनकमा छिन् । 

‘खुसी त त्यतिबेला आउँछ जतिबेला आफैँ हास्ने र खुसी हुन मन लाग्छ,’ उनले भनिन्, ‘पानी भरेर फर्किँदा दुई चिलिम तुमख (दुई घन्टा) खाइन्जेल पर्खिनुपथ्र्र्यो, पानी परेका बेला त कतिका हात, खुट्टा र ढाडमा चोट लाग्थ्यो ।’

दुई वर्षअगाडि गाउँमा खानेपानीको कुनै सुविधा थिएन । गाउँदेखि टाढा लामो जंगलको बाटो छिचोलेर पानी लिन जाँदा जंगली जनावरबाट भयभीत हुन्थे । 

पानी लिन जानुपर्ने बाध्यताका कारण काम गर्ने मानिसहरू र विद्यालय जाने बालबालिकाको  समय बर्बाद हुन्थ्यो भने कतिपय बालबालिकाले विद्यालयको मुख पाउँदैनन् थिए ।  

पानी लिन जाँदा जंगली जनावरले आक्रमण गर्छ कि भन्ने त्रास हुने गरेको स्थानीय समाजसेवी रामबहादुर रावतले बताए । 

‘घरघरमा आएको पानीले बालबालिकाको पढाइ मात्र होइन प्रत्येक कुडियाको २० मिनेट बचेको छ । ताजा र शुद्ध खानेपानी खान पाएका छन् । सरसफाइ गर्न पाएका छन्,’ उनले भने । 

उपभोक्ता समितिका अध्यक्ष मुनबहादुर रावतले ९ किलो मिटर टाढाबाट पानी ल्याउन पेस नेपाल सरकारसमक्ष आग्रह गरी पानीको परीक्षण गरी खानयोग्य भएपछि वडा बथान खानेपानी आयोजनाको निर्माण गरिएको जानकारी दिए । 

पानी नल्याउञ्जेल यति टाढाबाट पानी ल्याएर खान पाइएलाजस्तो आफूलाई नलागेको उनले बताए । पेस नेपालको अनुभवी प्राविधिकहरू र लागत दक्षताका कारण योजना निर्माण कार्य सम्पन्न भएको भएको हो । 

तिला गाउँपालिकामा १७२२ घरधुरी छन् ।  जसमध्ये ९७ घरधुरी सुुडी गाउँमा छन् । १० हजार २५ मध्ये ६६४ जना हाल सो बस्तीमा बस्दै आएका छन् । 

सम्पन्नता स्तरीकरणको विश्लेषण अनुसार क वर्गमा ३२ घरधुरी, ख वर्गमा ५१ घरधुरी र ग वर्गमा १४ घरधुरी छन् । १०८ धारा प्रत्येक घरघरमा छट्किएपछि विभिन्न क्षेत्रका जानकारले सुडिवासीको इतिहास परिवर्तन भएको बताएका छन् ।

रुघाखोकी, आउँ, झाडा बान्ताका कारणले आगनभरि बिछ्याइएका ओछ्यान र मर्दा तुल र गजिनोसमेत हाल्न नपाएका सम्झनाले सताउने गरेको बताउने सुडी स्वास्थ्यचौकीका इन्चार्ज किरण सिंह हिजोको दुई वर्षयता रुघाखोकी सामान्य र झाडा बान्ता बन्द भएको बताउँछन् । 

रुघाखोकी र झाडा बान्ताका कारणले मृत्यु भएमा तुल गजिनोसहितको झकिझकाउ लास र लास बोक्ने चौपल (डाणि) लाई सजाउने हो भने काल पल्किन्छ भन्ने मान्यताले तुल र गजिनो नगरी हेलाको रूपमा लास फाल्ने चलनका कारणले तुल गजिनो नहाल्ने सामाजिक परम्परा रहेको उनी बत्ताउँछन् । त्यो परम्परालाई अव सुडीबासीले व्यहोर्नुपर्ने छैन । 

हिजो झाड बान्ता, आउँ, दम र रुघाखोकीजस्ता छिटो सर्ने सरुवा रोगका कारणले मानिसमा सङ्क्रमण हुने गर्दथ्यो । घरघरमा चर्पीको व्यवस्था थिएन । महिलिएर गन्ध आउने लुगा फाटो पनि पखाल्ने पानी थिएन त्यसैले रोगी हुन्थे र रोगको सिकार हुन्थे । आज यस्ता समस्याको अन्त्य भएको छ। 

‘सरसफाइ गर्ने गाउँ तलको तुरतुरे धारो थियो । त्यहाँ खानेपानी नै पुग्दैनथ्यो र पानी भर्दै दिन जान्थ्यो । कतिखेर त ननुहाएर गोठमै फर्किनु पर्दथ्यो । त्यसको लागि पनि झगडा गर्नुपर्दथ्यो,' स्थानीय भन्छन् । 

विद्यालयका प्रधानाध्यापक झुपे रावतले पानीकै कारण धेरै बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुनुपरेको बताए । 

‘पानी लिनकै लाइनमा कुर्नुपरेको थियो । जसका कारण उनीहरू विद्यालय जान पाएनन् । नजिकै विद्यालय भएर पनि पढ्न जाने फुर्सद हुन्थेन,’ उनले भने । 

सिकाइ अभिवृद्धिदर निकै कमजोर रहेको बताउँदै उनले पानी लिन जाने क्रममा धेरै बालबालिकाको समय धारोमा बितेको स्मरण गरे । 

जेठ असार र असोज कातिकमा हैजा र झाडा बान्ताका कारण धेरैले ज्यान गुमाउने गरेकाले यी महिनालाई कालको समय पनि भन्थ्यो । 

यस्तै, ८० वर्षीय रामसिँ रावतले गाउँमा रोगजाला र पानी खाएर स्वस्थ बन्न पाइएला भन्ने कुरा आफूले सोच्न नसोचेको बताए ।