close

तुइनको डोरी र नेताको बाेलीले धोका दिँदा महाकालीमा बग्दै ब्याँसबासीका सपना

तुइनको डोरी र नेताको बाेलीले धोका दिँदा महाकालीमा बग्दै ब्याँसबासीका सपना

Trulli
ADVERTISEMENT

दार्चुला । बुधबार दार्चुलाको ब्याँस गाउँपालिका –२ दुम्लिङका सचिन बुढाथोकीको घरमा नुन,  तेल लगायतका उपभोग्य सामान सकिएको थियो। सधैँ जस्तै सचिनले सामान किनमेलका लागि भारतको गर्भाधार बजार गए। त्यहाँ पुग्न उहाँलाई एक घण्टा लाग्ने गरेको थियो।

सचिन मात्रै नभएर भारत आउजाउ गर्दा तुइनबाट महाकाली तर्नुपर्ने बाध्यता सबै दुम्लिङबासीको छ। तुइनबाट महाकाली तरेर गर्भाधार बजार पुगेका सचिन किनमेलपछि घरतिर लागे। फर्किदा पनि महाकाली नदी तर्ने सहारा त्यही तुइन नै थियो। महाकाली नदीको बीच पुगेका बेला भारततर्फ बाँधिएको तुइनको तार भाँचियो। तुइनसँगै १८ वर्षीय सचिन पनि उर्लंदो महाकालीमा बेपत्ता भए। तुइनको डोरीसँगै चुँडियो अनि महाकाली नदीमै बग्यो सचिनको सपना पनि।

०७८ साउन १५ गते ब्याँस गाउँपालिकाकै वडा नम्बर २ का ३३ वर्षीय जयसिंह धामीलाई सदरमुकाम खलंगा पुग्न महाकाली तरेर सुरुमा भारत पुग्नुपर्ने थियो । महाकाली तर्न पुल थिएन। विकल्पका रूपमा मालघाटमा थियो तुइन। धामीलाई पारी पुगाउने जिम्मा थियो, तुइन सञ्चालक कल्याणसिंह धामीको। तर जयसिंह पारी पुग्न पाएनन्। पारी पुग्न मात्र एक मिटर मात्रै बाँकी हुँदा जयसिंह महाकालीमा खसेर बेपत्ता भए। पारी ( भारततर्फ ) बाँधिएको तुइनको फेरो भारतीय सीमा सुरक्षा बलका जवानले फुकालेपछि जयसिंह बेपत्ता भएका थिए।

२०७८ साउनमा जयसिंह बेपत्ता भएपछि मुचुल्का उठाउँदै प्रहरी

जयसिंह बेपत्ता भएपछि विदेश गएर परिवार पाल्ने उनको सपना पनि महाकाली नदीमै बग्यो। जयसिंह बेपत्ता भएको एक वर्ष पुग्नै लागेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले छानबिन गरी घटनामा भारतीय एसएसबीलाई दोषी देखायो। संलग्नलाई कारबाही गर्न पनि छानबिन समितिले सरकारलाई आग्रह गरेको थियो। तर, अहिलेसम्म पीडित परिवारले न्यायको अनुभूति गर्न पाएको छैन। जयसिंह पनि भेटिएका छैनन्।

 

२९ वर्षमा २७ जना तुइन तर्ने क्रममा बेपत्ता

तुइन दार्चुलाबासीको बाध्यता हो। आफ्नै जिल्ला सदरमुकाम पुग्नका लागि भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता दार्चुलाको ब्याँसबासीलाई छ। भारतीय मार्ग प्रयोग गर्नुअघि ब्याँसबासीले महाकाली तर्नुपर्छ । महाकालीमा पुल पर्याप्त नहुँदा ठाउँ ठाउँमा बनाइएको छ, तुइन। तर तुइनकै कारण कयौँका सपना महाकालीमा बगेका छन्।

२९ वर्षको अवधिमा ब्याँस गाउँपालिका वडा नम्बर २ मा रहेका तुइन तर्ने क्रममा २७ जना बेपत्ता भएका छन्। २०७८ साउनमा जयसिंह धामी बेपत्ता भएपछि गाउँपालिकाले तथ्याङ्क संकलन गर्दा २७ जना तुइन तर्ने क्रममा बेपत्ता भएको भेटिएको ब्याँस गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

‘२०५० सालदेखिको तथ्याङ्क संकलन गरेको छौँ,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘सचिनसहित २७ जना महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका छन्। बेपत्तामध्ये अधिकांशको शव समेत फेला परेको छैन।’

उनका अनुसार अहिले पनि ब्याँस गाउँपालिका वडा नम्बर २ मा मात्रै सात स्थानमा तुइन राखिएको छ।

‘दोपके, तपाकु, कल्जु्, तल्लो दुम्लिङ, रिठान र विन्दला लगायत वडा नम्बर २ को क्षेत्रमा सात स्थानमा तुइन सञ्चालनमा छन्,’ वडाध्यक्ष बुढाथोकीले भन्छन्, ‘नेपालको भूमि भएर दार्चुला सदरमुकाम पुग्न दुई दिन लाग्ने गरेको छ। महाकाली तरेर भारत हुँदै सदरमुकाम खलंगा पुग्न ३ घण्टा मात्रै लाग्ने गरेको छ। त्यसैले तुइनमार्फत महाकाली तर्नु यहाँको बाध्यता हो।’

उनका अनुसार जयसिंह धामी बेपत्ता भएको मालघाटमा भने झोलुङ्गे पुल निर्माण भइरहेको छ।

ब्याँस गाउँपालिका वडा नम्बर २ का स्थानीय जीवन बुढाथोकीले दैनिक उपभोग्य सामाग्री खरिदका लागि भारतीय बजारको भर पर्नुपर्ने बाध्यता रहेको बताए।

‘विकट क्षेत्रमा ढुवानी गर्दै नेपाली व्यापारीले सामान बिक्री गर्दा तीन गुणा बढी महँगो हुने गरेको छ,’ जीवनले भने, ‘महँगो सामान किनमेलका लागि आर्थिक समस्या हुन्छ। त्यसैले भारतीय बजारमै पुगेर उपभोग्य सामान पनि किनमेल गर्ने गरेका छौँ।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार जौलजीवीदेखि सुनसेरासम्म झोलुङ्गे पुलमार्फत तुइन विस्थापित गरिएको छ।

‘दार्चुलाको अधिकांश क्षेत्रमा झोलुङ्गे पुल निर्माण भइसकेका छन्,’ डिएसपी बिष्टले जानकारी दिए, ‘तर माथिल्लो क्षेत्रमा पर्याप्त पुल नहुँदा अझै पनि तुइन सञ्चालनमा छन्। सुरक्षाकर्मीको उपस्थिति भएको क्षेत्रमा तुइन हटाइएको छ।’

२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर रहेका तुइन विस्थापित गरेर ती ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने दाबी गरेका थिए। तर दार्चुलावासीको भने अहिले पनि तुइनबाटै महाकाली तर्नुपर्ने बाध्यता छ।

 

सचिनको खोजी जारी

बुधबार तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका ब्याँस गाउँपालिका–२ दुम्लिङका सचिन बुढाथोकीको खोजी जारी राखिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार बुधबारदेखि नै सचिनको खोजी भइरहेको हो।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसँगै स्थानीय बासिन्दा पनि सचिनको खोजीमा सक्रिय छन्,’ डिएसपी बिष्टले भने।

गृहमन्त्री बालकृष्ण खाँणले पनि सचिनको खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका छन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता सचिनको खोजी कार्य तीव्र बनाउन गृहमन्त्री खाँणले निर्देशन दिएका हुन्।

 

भित्री तस्बिर : २०७८ साउनमा जयसिंह बेपत्ता भएपछि मुचुल्का उठाउँदै प्रहरी । 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार