close

उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण

उपल्लाचौरमा सिँचाइ नहर पुनःनिर्माण

Trulli
ADVERTISEMENT

म्याग्दी । पहिरो र सडकले क्षति पुर्‍याएको म्याग्दीको बेनी नगरपालिका–१ उपल्लाचौरको सिँचाइ आयोजनाको नहर पुनःनिर्माण गरिएको छ । 

पहिराले भासिएको ठाउँमा पाइप र सडकले पुरिएको ठाउँमा नयाँ नहर निर्माण गरिएको छ । उपल्लाचौर जलउपभोक्ता समितिका अनुसार उक्त नहर २००४ सालमा निर्माण गरिएको हो ।

समितिका अध्यक्ष चन्द्रविर थापाले खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा नहर पुनःनिर्माण गरिएको जानकारी दिए । 

“मुहान नजिकै पहिराले भासिएको र उपल्लाचौरमा रत्नेचौर–अर्जम–भकुण्डे सडक निर्माणका क्रममा पुरिएको थियो”, उनले भने, “भासिएको ठाउँमा पाइपलाइन र पुरिएको नहर निर्माण गरेपछि मुहानबाट पठाएको जति सबै पानी खेतमा आइपुग्ने भएको छ ।” 

नहर भासिने र पुरिने गरेपछि मुहानबाट पठाएको आधाभन्दा कम मात्र पानी खेतमा आइपुग्दथ्यो । हिउँद र सुख्खा याममा सिँचाइ अभावमा बाली लगाउन समस्या भएको थियो । बर्खामा पनि किसानले धान रोप्न पालो लगाउने गरेका थिए । 

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर अञ्जन खत्रीका अनुसार २००४ सालको सिँचाइ आयोजनाका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बिनियोजन गरिएको थियो । सो बजेटबाट १२५ एमएम क्षमताको एक हजार ११६ मिटर पाइप र २३५ मिटर नहर पुनःनिर्माण गरिएको हो । 

बागलुङको सिमानामा रहेको ठूलोखोलाको मुहानमा इन्टेक र त्यसलाई संरक्षण गर्न मेसिनरी पर्खाल निर्माण भएको छ । मुहानतर्फ ७२ मिटर र उपल्लाचौर नजिकै सडकले क्षति गरेको ठाउँमा १६३ मिटर नहर पुनःनिर्माण भएको छ ।     

यसबाट उपल्लाचौरको करिब ४०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ भने एक सय ५० घरधुरी लाभान्वित भएका छन् । आगामी आवमा थप ५०० मिटर नहर निर्माण गरेपछि आयोजना पुनःनिर्माण सम्पन्न हुने अध्यक्ष थापाले बताए ।