सिन्धुली । मरिण गाउँपालिका–३ मा झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । १२० मिटर लम्बाइ भएको झोलुङ्गे पुल निर्माण सुरु भएपछि वडा नं ३ को सिस्नेरी वरुण र भित्री भलायोका स्थानीय बासिन्दा खुसी भएका छन् ।
तत्काल नै पुल निर्माण सम्पन्न गर्नुपर्ने स्थानीयवासीको माग छ । वर्षौँदेखि वर्षात्को समयमा समस्यामा रहेका त्यस क्षेत्रका ५२२ घरपरिवारका स्थानीय बासिन्दा पुल निर्माण सुरु हुन थालेपछि खुसी भएका हुन् । पुल नहुँदा सिस्नेरी वरुण र भित्री भलायोका नागरिकले धेरै नै दुःख पाएको वडा नं ३ का वडाध्यक्ष जीतबहादुर श्रेष्ठले बताए ।
वर्षात्को समयमा आफूले वडाका नागरिक स्वास्थ्य, शिक्षाजस्ता अत्यावश्यक सेवा लिनबाट समेत वञ्चित हुनुपरेको जनाउँदै उनले भने, “पुल निर्माण समयमा नै सम्पन्न गर्न स्थानीयवासीले दबाब दिँदै आएको छ, पुल नहुँदा सुत्केरी महिला, बिरामीलाई स्वास्थ्य संस्थामा जानसमेत समस्या हुने गरेको छ ।”
पुल निर्माणका लागि गाउँपालिकाको १३ प्रतिशत, समुदायबाट दुई प्रतिशत, सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट ७७.२० प्रतिशत, सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम लठ्ठा बुल्डग्रिप थिम्बल्स आदिबाट ७.२० प्रतिशत खर्च व्यहोर्ने गरी पुल निर्माण सुरु भएको हो । झोलुङ्गे पुल निर्माणपछि त्यस क्षेत्रमा रहेका ५२२ घरपरिवारका तीन हजार ६१२ जना प्रत्यक्ष लाभाविन्त हुने उनले बताए ।