close

गायिक सुनार मृत्यु प्रकरण : प्रमाण खोज्दै प्रहरी

गायिक सुनार मृत्यु प्रकरण : प्रमाण खोज्दै प्रहरी

Trulli
ADVERTISEMENT

काठमाडौं । लोक दोहोरी गायिका दीलमाया सुनारको मृत्यु आत्महत्या वा हत्या पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट आएपछि मात्रै एकिन गरेर भन्न सकिने प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रका अनुसार नेपालटारस्थित कोठामा बस्दै आएकी उनी शनिबार पौने ११ बजे कोठामा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन् । 

उनको शरीरमा कुनै चोटपटक नभए पनि  घोप्टो परेको अवस्थामा शव भेटिनु र झुण्डिन प्रयोग भएको वस्तु बरामद नहुनुले घटनालाई रहस्यमय रहेको प्रहरीको भनाइ छ ।  

तर अनुसन्धानमा संलग्न एक अधिकृतले सुनारले सलमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको बताइएको छ । 

‘उनले सोधपुछका क्रममा बिहान ब्यूँझिदा झुण्डिएको अवस्थामा देखेपछि निकालेको भनेका छन्’ ती अधिकृतले भने, ‘तर आफू आत्तिएकाले सल निकालेर लुकाएको बताएका छन् ।’ त्यही आधारमा शनिबार बिहान ३ बजेपछिको समयमा घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रहरी स्रोतका अनुसार केही समयअघिदेखि उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरी काठमाडौंमा बस्दै आएकी थिइन् । उनका एक छोरा सुर्खेत मामाघरमा बस्दै आएको खुलेको छ ।

यस्तै, उनी काठमाडौंमा सुनार गहना पसलमा काम गर्ने एक व्यक्तिसँग ‘लिभिङ टुगेदर’मा भएको पनि खुलेको छ । प्रहरीका अनुसार सुनारको मृत्यु हुँदा ती व्यक्ति एउटै कोठामा थिए ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनले आफू घटना हुँदा एउटै कोठामा रहेको स्विकारेका छन् । तर, आफू निद्रामा भएका बेला सुनारले सलले पासो लगाएर आत्महत्या गरेको दाबी उनले गरेका छन् । तर, घटनापछि उनी फरार भएका कारण सुनारको मृत्यु‚ आत्महत्या वा मारिएको हो भन्नेमा निचोडमा पुगिसकेको छैन ।

शोधपुछका क्रममा प्रहरीसमक्ष ती व्यक्तिले भनेका छन् । तर, पासो लगाएको भनिएको सल र मृतक सुनारको मोबाइल घटनास्थलमा फेला परेको छैन । जसलाई प्रहरीले घटना लुकाउन शंकाष्पद ती व्यक्तिले चलखेल गरेको हुन सक्ने आशंका गरेको छ ।

मृतक सुनारको फेसबुक र टिकटक अकाउन्टमा पनि उनले निराशाजन्य सामग्री तथा भिडियो पोस्ट गरेको देखिन्छ । ती पोस्ट उनी आफैंले वा उनीसँगै बस्ने अर्का व्यक्तिले गरेको हो भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

के छ, उनको आइडीबाट पोस्ट भएको स्टाटसमा ?

सुनारको फेसबुकमा शुक्रबार राति १:२० बजे ‘जिन्दगीमा धेरै उतारचढाव भोगेको र जान्ने भएर आफैं एक्लो भएको’ भन्दै स्टाटस पोष्ट भएको छ ।

‘कसैको माया पाउन जति कोशिस गरे पनि पाउन सकिनँ, तर पनि हार खाइनँ’ स्ट्याटसमा भनिएको छ, ‘तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा । तिम्री छोरी धेरै थाकी छे ।’

स्ट्याटसमा आमालाई सम्बोधन गर्दै ‘बहिनी, छोरी छन्, मन बुझाउनु नरुनु’ भनिएको छ । साथै छोरालाई सम्बोधन गर्दै ‘तिमीलाई पढाउन र ठूलो मान्छे बनाउने मन थ्यो, जसरी भए पनि ठूलो मान्छे बन्नु है, म नभए पनि त मेरो आर्शिवाद सधैं तिमीसित हुनेछ’ भनिएको छ ।

फेसबुकमा आफ्नो गीत जहाँ छ, जति छ बजारमा ल्याइदिनु पनि भनेकी छन् । ‘म धेरै थाँके अब म बाच्न सक्दिनँ, यो दुनियाँ धेरै स्वार्थी छ’ स्ट्याटसमा भनिएको छ ।