अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाँडाकटेरीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
हिजो (शुक्रबार) दिउँसो साढे २ बजे मालारानी–२ डाडाकटेरीका २७ वर्षीय कमल भुसालले आफ्नै श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
शुक्रबार दिउँसो कमलसँगै श्रीमती २७ वर्षीया सरु भट्टराई भुसाल घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन गएकी थिइन् ।
शुक्रबार बेलुकीपख कमल हस्याङ-फस्याङ गर्दै इलाका प्रहरी कार्यालय खन पुगे ।
सरुका श्रीमान् कमलले प्रहरीलाई आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर हत्या गरेको बताए ।
'गम्छाले श्रीमतीको घाँटी कसेर मारेको र खोल्सीमा स्याउलाले ढाकेर आएको' भनी कमल आफैँ इलाका प्रहरी कार्यालय खनमा पुगेका थिए ।
घटनाबारे प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक पौडेलले पालिका खबरलाई जानकारी दिए ।
कमललाई प्रहरीले नियन्त्रणमा राखेको छ ।