मोरङ । मोरङको मिक्लाजुङमा बालिका बलात्कार भएको ४ महिनापछि घटना सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार गत माघ १६ गते १४ वर्षीया बालात्कृत भएकी थिइन् । पीडकले बलात्कार गरी घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की दिएपछि ४ महिनासम्म सार्वजनिक हुन नसकेको हो ।
प्रहरीका अनुसार गएको माघ १६ गते दिउँसो १ बजेतिर पीडित बालिका सुँगुरलाई चारो खोज्न घर नजिकैको जंगलमा पुगेकी बेला उनलाई मिक्लाजुङ-४ का ४४ वर्षीय छविराज चाम्लिङले बलात्कार गरेका थिए ।
घटनापछि नियमित स्कुल गइरहेकी बालिकाको स्वास्थ्यमा एक्कासि समस्या आएर परिवारले परीक्षण गर्दा बालिका गर्भवति भएपछि प्रहरीकहाँ उजुरी आएको प्रवक्ता श्रेष्ठले पालिका खबरलाई बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बालिकाको स्वास्थ्य परीक्षण भइरहेको र फरार अभियुक्त चाम्लिङको खोजी भइरहेको छ ।