close

पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

पहिरोले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

Trulli
ADVERTISEMENT

संखुवासभा । लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडक खण्ड अवरुद्ध भएको हो । 

उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नं ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए । 

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरूपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए । 

पहिरोले मकालु–५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पहिरोले पुल आसपासको भूभाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उनले बताए । लगातारको वर्षाले उत्तर दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताए । 

त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।