close

नगरबासीलाई सामाजिक सुरक्षा ग्यारेन्टी गर्दै कनकाई

नगरबासीलाई सामाजिक सुरक्षा ग्यारेन्टी गर्दै कनकाई

Trulli
ADVERTISEMENT

झापा–संविधानमा महिला, बालबालिका र वृद्धवृद्धालाई विशेष संरक्षणसहित सामाजिक सुरक्षाका कार्यक्रममा समिटिने व्यवस्था छ । कमजोर र अशक्त वर्गलाई सामाजिक सुरक्षाको लाभ दिन सके मात्र लोककल्याणकारी राज्य भएको अनुभूति हुने हो । यही मान्यतालाई आत्मसात गर्दै झापाको कनकाई नगरपालिकाले नागरिलाई सामाजिक सुरक्षाका कार्यक्रमबाट लाभ दिँदै आएको छ । 

 

जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएदेखि सधैँ नगरमा कोही सुत्केरी छन् भने घरघर पुग्ने गरेको कनकाई नगरपालिका उपप्रमुख मञ्जु प्रसाईं बताउँछिन् । उनले यसरी नै पोषिलो खानेकुरा खान सल्लाह दिने र २ हजार रुपैयाँ नगदसहित झुल वितरण गरिहेकी हुन्छिन् । २ हजार रुपैयाँ सानो रकम भए पनि विपन्नका लागि यसले ठूलो राहत दिने गरेको स्थानीय सुनिता सोरेनको भनाइ छ ।

 

नगरपालिकाले सुत्केरीका लागि यसरी कार्यक्रम गर्न आर्थिक वर्ष ०७४/७५ मा २ लाख रुपैयाँ बजेट छुट्याएको थियो । अहिले आर्थिक वर्ष ०७८/७९ मा १५ लाख छुट्याएर नगरका १ हजार बढी सुत्केरीलाई सहयोग गर्दै आएको छ । गर्भावस्थामा स्वास्थ्य केन्द्र पुगेर स्वास्थ्य परीक्षण गराउनेलाई नगरले सहयोग गर्ने गरेको छ । यसरी घरमै गएर समस्या सुन्ने र पीडा बुझिदिँदा नागरिकले जनप्रतिनिधिलाई सुख, दुःखका सारथिका रूपमा बुझेका छन् । जनप्रतिनिधिले पनि नगरमा सुत्केरी  र शिशुको स्वास्थ्यमा सुधार ल्याउने अवस्था सिर्जना गरेको नगर उपप्रमुख प्रसाईं सुनाउँछिन् । 

 

नगरले सामाजिक सुरक्षाअन्तर्गत यसरी नै प्रसूति र अपांगता भएका, बेरोजगार, विपन्न र असहायलाई सहयोग गरिरहेको छ । प्रसूति हुँदा सहयोग गर्ने, बच्चाको हेरचाह र खानपिनको व्यवस्था गरिदिने काम जनप्रतिनिधिले गरिरहेका छन् । असहाय र वृद्धवृद्धालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरिएको छ । नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा कार्यक्रम, सुत्ेकरीलाई पोषण र ज्येष्ठ नागरिकका लागि वर्षमा दुई पटक घरमै स्वास्थ्य परीक्षण सञ्चालन गरिँदै आएको नगरपालिकाको महिला, बालबालिका, अपांगता र ज्येष्ठ नागरिक शाखा प्रमुख  टीका खतिवडाले जानकारी दिइन् । 

 

ज्येष्ठ नागरिकका लागि अक्षय कोष स्थापना र सञ्चालन हुने गरेको छ । नगर क्षेत्रभित्रका विपन्न परिवारका लागि बालबालिकालाई खाने बस्नेसहित पठनपाठनको व्यवस्था गरिएको छ । यसले नगरका विपन्न समुदायको सामाजिक सुरक्षा ग्यारेन्टी भएको वडा नम्बर ७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्गवाको भनाइ छ ।

 

नगरपालिकाले अझ धेरै काम गर्न बाँकी छ । तर, जनप्रतिनिधिबाट प्राप्त स्रोत–साधन र जनशक्तिको आधारमा जे–जति काम भएका छन्, त्यो प्रशंसनीय छ । नगरपालिकाले पाँच वर्षमा सामाजिक विकासमा गरेको लगानी र मिहिनेतको प्रतिफल असहाय नागरिकलाई ठूलो राहत मिलेको छ ।