close

वित्त आयोगको कार्यसम्पादन मूल्यांकन : काभ्रेका नगरपालिकामा नमोबुद्ध पहिलो

वित्त आयोगको कार्यसम्पादन मूल्यांकन : काभ्रेका नगरपालिकामा नमोबुद्ध पहिलो

Trulli
ADVERTISEMENT

काभ्रे–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा काभ्रेका नगरपालिकामध्ये नमोबुद्ध नगरपालिका पहिलो स्थानमा पर्न सफल भएको छ । 

 

आयोगले गत आर्थिक वर्ष ०७७/७८ को स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । यसमध्ये नमोबुद्ध जिल्लाका ६ वटा नगरपालिकामध्ये पहिलो स्थानमा परेको हो । समग्र स्थानीय तह र गाउँपालिकातर्फ रोशी गाउँपालिका जिल्लामा पहिलो स्थानमा पर्न सफल भएको छ । 

 

वित्त आयोगले विभिन्न १७ वटा सूचकको वित्तीय क्षेत्रर्फका सूचकको आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन
गर्दछ । नगरपालिकातर्फ पहिलो स्थानमा पर्न सफल भएको नमोबुद्ध नगरपालिकाले ६६.३९ अंक प्राप्त गरेको छ ।

 

जिल्लामा समग्र स्थानीय तहमध्ये पनि पहिलो स्थानमा परेको महाभारत गाउँपालिकाले ६८.३६ अंक प्राप्त गरेको छ भने समग्र स्थानीय तहमा दोस्रो स्थानमा रहेको महाभारत गाउँपालिकाले ६६.६८ अंक प्राप्त गरेको छ । नमोबुद्ध नगरपालिका जिल्लाका १३ स्थानीय तहमध्ये समग्रमा तेस्रो तथा मुलुकका ७५३ स्थानीय तहमध्ये १३औँ स्थानमा परेको छ । 

 

वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट स्थानमा पर्नु गौरवको विषय भएको नमोबुद्ध नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले बताए । ‘हामीले तोकिएकै समयमा नगरसभा सञ्चालन, नीति कार्यक्रम तथा बजेट विनियोजन, राजस्व परिचालनका काम गरिरहेका छौँ,’ तिमल्सिनाले भने, ‘विनियोजित बजेट पनि समयमै कार्यान्वयनमा लगेका छौँ ।’ 

 

आयोगले तोकिएको समयमा बजेट ल्याए÷नल्याएको, बार्षिक समीक्षा गरे या नगरेको, स्थानीय तहको बेरुजुको अवस्था, आवधिक योजना तर्जुमा भए/नभएको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्नादरको अवस्था, बालबालिकालाई लगाइएको पूर्ण खोपको अवस्थालगायतका १७ वटा सूचकमार्फत स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरेको थियो । 

 

काभ्रेका अन्य स्थानीय तहमा नगरपालिकातर्फ दोस्रो स्थान र समग्रमा चौथोमा परेको धुलिखेल नगरपालिकाले ६३.२९, पाँचौँ स्थानमा परेको पाँचखाल नगरपालिकाले ६३.१९ अक प्राप्त गरेका छन् । जिल्लामा सबैभन्दा कम अंक प्राप्त गर्नेमा चौरीदेउराली गाउँपालिका रहेको छ । चौरीदेउराली गाउँपालिकाले जम्मा ३७.९० अंकमात्रै प्राप्त गरेको छ । 

 

जिल्लाका अन्य स्थानीय तहमा नगरपालिकातर्फ बनेपाले ५६.२२, पनौतीले ५५.९२ र मण्डनदेउपुरले ५३ अंक प्राप्त गरेका छन् । यस्तै, गाउँपालिकातर्फ बेथानचोकले ५९.२५, खानीखोलाले ५४.९५, तेमालले ५०.५८ र भुम्लु गाउँपालिकाले ५०.२० अंक प्राप्त गरेका छन् ।