काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा संरक्षणमा संघीय सरकारले चासो दिनुपर्ने बताएका छन् । शाक्यले सम्पदा संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि सोहीअनुसार काम नभएको गुनासो गरे ।
शाक्यले शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण शिलान्यास गर्दै संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरले सबै सम्पदा पुनर्निर्माणलाई अघि बढाएको बताए । महानगरले सम्पदा पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय गुठीलाई नै दिने नीतिअनुसार काम भइरहेको उनले जानकारी दिए ।
शाक्यले भने, ‘हामीले चुनावका बेला घोषणा गरेको काठमाडौं एउटा ऐतिहासिक सहर, सांस्कृतिक सहर । यसलाई जीवन्त बनाउनुपर्छ भनेर भनेका थियौँ । यसलाई संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र पर्यटनसँग जोड्ने भन्ने नीति लियौँ । चुनावी घोषणापत्रअनुसार सबै काम गर्दै आएका छौँ । यो सम्पदा राज्यको सम्पत्ति हो ।’
त्यसका लागि आर्थिक पक्ष महानगरले हेर्ने तर त्यसको संरक्षण र व्यवस्थापन गुठियारलाई नै दिने नीति लिइएको उनले
बताए । आँगन घर पुनर्निर्माणका लागि काठमाडौं महानगरले ७६ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिए ।