close

कैलारी गाउँपालिकाद्वारा भलमन्सा प्रथालाई कानूनी मान्यता प्रदान

कैलारी गाउँपालिकाद्वारा भलमन्सा प्रथालाई कानूनी मान्यता प्रदान

Trulli
ADVERTISEMENT

धनगढी– थारु समुदायमा सदियोदेखि प्रचलित भलमन्सा (बड्घर) प्रथालाई कैलालीको एक स्थानीय तहले कानूनी मान्यता दिएको छ ।
थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले भलमन्सा प्रथालाई कानूनी मान्यता दिएको हो । ४९ हजार जनसङ्ख्या रहेको सो गाउँपालिकामा ९७ प्रतिशत थारु समुदायका मानिसको बसोबास छ ।

 

यो समुदायले मान्दै आएको परम्परागत भलमन्सा प्रथाको अखिलेखीकरण, संरक्षण, प्रवद्र्धन, विकास र अभ्यासमा टेवा पुर्‍याउने उद्देश्यले कानूनी मान्यता प्रदान गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । सो गाउँपालिकाले ‘कैलारी गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०७८’ निर्माण गरेको छ ।

 

नेपालको संविधान, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धी १६९, आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र र स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत प्रचलित कानून बमोजिम वाञ्छनीय भएकोले यो ऐन बनाइएको गाउँपालिकाले जनाएको छ ।

 

भलमन्सा प्रथालाई जिम्मेवारीपूर्वक अगाडि बढाउने र अराजक हुनबाट जोगाउने हिसाबले सुझबुझका साथ ऐन बनाएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए । ‘भलमन्सा प्रथामा राजनीतिक रुपमा अस्वस्थ प्रतिपर्धा हुन सक्ने सम्भावनाका विषयलाई हटाएर हामीले ऐन पास गरेका छौं’, उनले भने ।


गाउँपालिकाले बनाएको ऐनले थारु समुदायको परम्परागत प्रथाजनित सङ्गठनको क्षेत्राधिकार सम्बन्धित एक गाउँमा रहने गरी भलमन्साको कार्य क्षेत्र तोकेको छ । प्रत्येक वर्ष भूरा खेलबाट छनोट भएका भलमन्सा प्रथा भित्रका पदको जिम्मेवारी पाउने व्यक्तिलाई सम्बन्धित वडा कार्यालयले परिचयपत्र प्रदान गर्ने ऐनले व्यवस्था गरेको छ । यस्तै, भलमन्सा बडघर प्रथा अन्तर्गत प्रत्येक वर्षको कार्य, गतिविधिको अभिलेख राख्ने व्यवस्था गरिएको छ ।

 

ऐनले भुरा खेललाई भलमन्सा प्रथाको सर्वोच्च अङ्ग मानेको छ । गाउँको सिमानाभित्र पर्ने प्रत्येक घरधुरीबाट एक वा दुई जनाको प्रतिनिधित्व हुने गरी भुरा खेल (गाउँ सभा) हुने व्यवस्था गरेको छ । । गाउँको भुरा खेल हरेक वर्षको माघ महिनामा सम्पन्न गरिसक्नु पर्ने व्यवस्था गरिएको छ । भुरा खेलमा भलन्सा प्रथाका पदाधिकारीहरु जस्तै भलमन्सा, अघारी, चिरक्या, चौकिदार, गुरुवा, केसौका आदिको वर्षभरिको हिसाबकिताब सोधखोज, अनुमोदन गर्न सक्ने व्यवस्था गरिएको छ । गाउँ भुरा खेलको काम, कर्तव्य र अधिकार गाउँमा वर्षभरि भए गरेका कामको समीक्षा गर्ने लगायतका रहेका छन् ।

 

भलमन्सा प्रथाका पदाधिकारीहरु हुनलाई नेपाली नागरिक हुनु पर्ने व्यवस्था गरिएको छ । यस्तै, ऐनको परिच्छेद ४ मा भलमन्साको काम, कर्तव्य र अधिकारको बारेमा व्यवस्था गरिएको छ । भलमन्साले आपतविपद्मा व्यक्तिको, सार्वजनिक सम्पत्तिको संरक्षकत्वको भूमिका निर्वाह, गाउँघरका झैझगडा, विवाद प्रचलित कानूनको अधिनमा रहि निरुपण गर्नु पर्नेछ ।

 

यस्तै, विकास निर्माण सम्बन्धी अधिकार, संस्कृति, संरक्षण, प्रवद्र्धन सम्बन्धी अधिकार, सम्पर्क र समन्वयात्मक अधिकार ऐनले व्यवस्था गरेको छ । आफ्नो गाउँको विकास निर्माण सम्बन्धी योजना पहिचान, प्राथमिकता, छनोट गर्ने, योजना बनाउने र निर्माण कार्यमा जनप्रतिनिधिसंग समन्वय गर्ने अधिकार ऐनले प्रदान गरेको छ । यसैगरी, विकास निर्माणको लागि स्रोत, साधन जुटाउन सरोकारवाला निकायसंग समन्वय गर्ने, गाउँको विकास निर्माणमा जनश्रमदान जुटाउने, लोक नृत्य, लोक बाजा, लोक गीत, लोक संस्कृति संरक्षण र अभ्यासमा अग्रणी भूमिका निर्वाह गर्नु पर्ने ऐनले व्यवस्था गरेको छ ।

 

यस्तै, गाउँ समुदायलाई विपद्पूर्व तयारी गराउने, शिक्षा, स्वास्थ्य, सरसफाइ आदि क्षेत्रको सूचना गाउँमा सम्प्रेष्ण गराउने, सामाजिक समस्या, विकृति, अन्याय र अत्याचारको विरुद्ध जन परिचालन गर्ने काम, कर्तव्य र अधिकार तोकिएको छ । यसैगरी, भलमन्साले समानता, न्याय, सामाजिक, साँस्कृतिक, धार्मिक सदभाव, एकता कायम गराउने र भुरा खेलको निर्णय कार्यान्वयन गराउने अधिकार ऐनले व्यवस्था गरेको छ ।

 

यसैगरी, यो ऐनले भलमन्सा प्रथाका अन्य पदाधिकारीहरु अघारी, चौकिदार, चिरक्या, गुरुवा, केसौका पनि काम कर्तव्य र अधिकार तोकेको छ । गाउँपालिकाले आफ्नो कार्यविधि अनुसार दिने अनुदान, गाउँ भुरा खेल र भेलाको निर्णय अनुसार प्रति घरधुरी निश्चित प्रयोजनका लागि जम्मा गरेको नगदी वा जिन्सी लगायत भलमन्सा प्रथाको आम्दानीको स्रोत हुने ऐनमा उल्लेख छ ।

 

गाउँपालिकाले भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन बनाएपछि यो प्रथा कानूनी दायरामा आएको र यसले आधिकारिकता प्राप्त गरेको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले बताए । ‘भलमन्साहरु काम गर्दै आए पनि आफै के हुँ भन्ने थाहा थिएन’, उनले भने । ‘यो ऐनले उनीहरुलाई थप जिम्मेवार बनाउनुका साथै जिम्मेवारीको बोध गराएको छ ।’

 

थारु बहुल कैलालीमा भलमन्सा प्रथालाई वैधानिकता प्रदान गर्ने कैलारी गाउँपालिका पहिलो स्थानीय तहसमेत बनेको छ । नेपालमा यो प्रथालाई बर्दियाका केही स्थानीय तह र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले वैधानिकता प्रदान गरिसकेका छन् ।