close

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना संक्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर बुधबारदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ ।पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजा मात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

 

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि बुधबारदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजाबाहेकका सबै धार्मिक क्रियाकलाप सरकारको निर्णयअनुसार बन्द गरिएको उनले बताए ।

 

अर्को सूचना जारी नभएसम्म पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत भक्तजनको भीडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजा मात्र गरिनेछ । अरू धार्मिक क्रियाकलाप बन्द गरिएको छ । ०७६ चैत पहिलो साता नेपाल पहिलो पटक कोरोना संक्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

 

त्यसबेला ९ महिनापछि अर्थात् १ पुस ०७७ देखि मात्र दर्शनार्थीका लागि मन्दिर खुला गरिएको थियो । गत वैशाखमा डेल्टा भेरियन्टसहितको कोरोना संक्रमण तीव्र भएपछि दोस्रो पटक पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

 

तिजपछि मात्र मन्दिरमा सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुला गरिएको थियो । गत असोजदेखि पशुपति क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो । पर्यटकका लागि पशुपति क्षेत्र खुला गरेपछि गत असोजदेखि नै चहलपहल बढेको थियो ।