close

दिवासेवा केन्द्र : ज्येष्ठ नागरिकको मन भुलाउने चौतारी

दिवासेवा केन्द्र : ज्येष्ठ नागरिकको मन भुलाउने चौतारी

Trulli
ADVERTISEMENT

देउखुरी–  घोराहीमा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले नागरिको मन भुलाउने गरेको छ । घोराही–१५ उत्साह टोलमा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र ज्येष्ठ नागरिकको बिसाउने चौतारी बनेको छ ।


 
घोराही–१७ की ८५ वर्षीया सीता अधिकारीको अचेल दिनचर्या फेरिएको छ । ज्येष्ठ नागरिक दिवा केन्द्रमा नगइ उनको मन मान्दैन । दिवासेवा केन्द्रमा आफ्नै उमेरका साथी र आफन्तसँग भलाकुसारी गर्नु, सुखदुख बाँड्नु, भजनकीर्तन गर्नु, नाच्नु, गाउनु कथाव्यथा सन्नु, सुनाउनर उहाँलाई आनन्द लाग्ने गरको अधिकारी बताउँछिन् । 

 

‘रामायण र महाभारतका श्लोेक सुन्दा मनमा आनन्द आउँछ । घरमा बस्दा पट्यार लाग्ने र समय बिताउन गाह्रो भएको थियो । दिवासेवा केन्द्रमा आउन थालेपछि दिन गएको थाहै नहुँदोरहेछ’, उनले भनिन् । आफू समानका साथीसँग भलाकुसारी गर्न पाउदा अधिकारी दङ्ग छिन् । 

 

यस्तै घोराही–१५ का ८२ वर्षीय बुद्धिप्रकाश अधिकारी दिवा सेवाकेन्द्रमा आएपछि सबै दुःखपीडा भुल्ने गरेको बताउँछन्  । आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने नाचगान भजनर्कीर्तन गरेर दिन बिताउन सजिलो भएको उनको भनाइ छ । ‘आफूसँगका उमेर मिल्ने साथीसँग भेट भएको छ । धेरै वर्षदेखि भेट्न नपाएका साथी र आफन्तसँग भेट हुन पाउँदा पहिलेको समयको याद आउछ’, अधिकारीले भने । 

 

घोराही–१५ की ७३ वर्षीया सुुशीला सुवेदीलाई एकदिन पनि दिवा सेवाकेन्द्र छुटाउन मन लाग्दैन । श्रीमान्को निधनपछि एक्लै भएकी सुशीलालाई दिवासेवामा दिन बिताउन सजिलो भएको छ । ‘घरमा बस्न मन लाग्दैन, बसे पनि दिनभरी उतैको याद आउँछ’, उनले भनिन् । ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्र स्थापना भएपछि उनी नियमित जान थालेकी छिन् । 

 

सेवाकेन्द्र आउजाउ गर्न थालेपछि शरीर हलुङ्गो भएको उनले बताइन् । घोराहीका १५ र १७ वडाका ज्येष्ठ नागरिक एकै स्थानमा जम्मा भएर दिन बिताउँछन् । घोराही उपमहानगरपालिकाले रु पाँच लाखको लागतमा निर्माण गरेको दिवासेवा केन्द्रमा दैनिक ४० देखि ६० ज्येष्ठ नागरिक भेला हुने गरेको व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम खनालले बताए । 

 

साठी वर्ष नाघेका कुनैपनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभरी मन भुलाउन सक्छन् । उनीहरुलाई चिया र बिस्कुटको व्यवस्था नगरपलिकाले गरेको छ । दुई वर्षअघिदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनर्कीर्तनका लागि मादल, मुरली, खैजडी, मुजुरा जस्ता बाद्यबादनका सामग्री उपलब्ध छन् । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनर्कीर्तन तथा नाचगान गर्छन् ।   केन्द्रमा विभिन्न दाताबाट टेलिभिजन र कम्प्युटर उपलब्ध भएको छ । धार्मिकग्रन्थको पाठ र प्रवचन कार्यक्रम समय तालिका अनुसार गरिन्छ ।

 

उपमानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले १९ वडामध्ये नौ वडामा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालनमा आएको बताइन् । त्यहाँ उनीहरुको नियमित स्वास्थ्यपरीक्षण समेत गरिँदै आएको छ । अधिकांश घरमा परिवारका सदस्य आफै व्यस्तहुँदा ज्येष्ठ नागरिकसँग बोल्ने, हाँसिदिने, भलाकुसारी गरिदिने र समय बिताइदिने कोही हुँदैनन् । दिवासेवा केन्द्र भने सबैको बिसाउने चौतारी बनेको छ ।