close

भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम पाटन दरबार स्क्वायरमा

भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम पाटन दरबार स्क्वायरमा

Trulli
ADVERTISEMENT

काठमाडौं–सरकारले २४औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्नेे भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालमा बुधबार भएको भूकम्प सुरक्षा दिवस, २०७८ मूल समारोह समितिको बैठकले भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम पाटनमा गर्ने निर्णय गरेको हो । 

 

प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रममा प्रमुख अतिथि हुनेछन् । २ माघ १९९० महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप २०५५ देखि हरेक वर्ष सोही दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने सन्दर्भमा जनचेतना दिलाउन स्वास्थ्य मापदण्डको पालना गर्दै मुलुकभर २६ पुसदेखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी भूकम्प दिवस मनाउन लागिएको हो ।

 

ललितपुर महानगर नगरप्रमुखको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । भूकम्प सुरक्षा दिवसको नारासहितका पोस्टर मुलुकभरका निजी, सामुदायिक तथा सरकारी विद्यालयमा पठाई विभिन्न शैक्षिक एवं चेतनामूलक कार्यक्रम गरिने भएको छ । 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय पालिकालाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमार्फत प्रदेशस्तर र पालिका स्तरमा विभिन्न कार्यक्रमसहित दिवस मनाउन सबै प्रदेश सरकारलाई पत्राचार गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकले जिल्ला प्रशासन कार्यालयलाई भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम आयोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट परिपत्र गर्ने निर्णय गरेको छ । यो वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ रहेको छ ।