जुम्ला–जुम्लाको जडीबुटीका लागि प्रख्यात तातोपानी गाउँपालिका वडा नम्बर ७ र ८ वडा भेरीखोलाको बुढावाडामा जडीबुटी संकलन केन्द्र निर्माण हुने भएको छ । जडीबुटीको भण्डार मानिने यहाँ विभिन्न थरीका जडीबुटी पाइन्छन् । पाटन क्षेत्र पनि भएकाले जडीबुटीसहित भेडाबाख्रा, पशुचौपायाको उर्भर भूमि पनि हो ।धान फल्ने खेतीयोग्य जमिन कमै मात्रमा भएकोले यो क्षेत्रमा आलु, मकै, कोदो, जौ, गहुँ, फापर, सिमी खेती बढी हुने गर्छ ।
तिला गाउँपालिका वडा नम्बर ४ त्रिवेणीमा पक्की पुल निर्माण भएर भेरीखोला राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि यहाँ कतिपय गाउँबस्ती राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन ।
सडक जोडिएका ठाउँमा पनि नियमित सवारी साधन गुड्ने गरेका छैनन् । यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र खच्चरबाटै बोकेर लैजाने गर्छन् । जडीबुटी बढी पाइने भएकाले स्थानीयले वडा नम्बर ८ बुढावाडा गाउँमा संकलन केन्द्रका लागि भवन निर्माण गरिरहेका छन् ।
अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्लाको १९ लाख २२ हजार ४७६ रुपैयाँ बजेटमा जडीबुटी संकलन केन्द्र निर्माण गर्न थालिएको हो ।
निर्माणाधीन जडीबुटी संकलन केन्द्र सम्पन्न गरी प्रयोगमा ल्याइने परियोजनाका अनुगमन तथा मूल्यांकन सहायक ललित डाँगीले बताए । उनले भने, ‘यो क्षेत्रको जडीबुटी संकलन गरी बिक्री वितरण सहज होस् भन्ने उद्देश्यले संकलन केन्द्र निर्माण गरिएको हो । यसमा धुपीजस्ता जडीबुटी प्रशोधन उपकरण जडान गरिनेछ ।’
तातोपानी गाउँपालिका वडा नम्बर ७ कयारकोटमा आलु भण्डारण भवन पनि निर्माण भएको सामाजिक परिचालक भवानीप्रसाद पाण्डेले बताए । उनले भने, ‘यो क्षेत्र आलु उत्पादनको उर्बर भूमि भएकाले सिजनमा आलु संकलन गरी शीतभण्डारमा राख्ने र बेमौसममा बिक्री गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो ।’