रौतहट–रौतहटको गरुडा नगरपालिकाका वृद्धवृद्धाले रोकिएको सामाजिक भत्ता समयमै पाउनुपर्ने माग गर्दै चक्काजाम गरेका छन् । गत साउनदेखिको वृद्धाभत्ता उपलब्ध नगराएको भन्दै उनीहरूले विरोधस्वरूप चक्काजाम गरेका हुन् ।
भत्ताको रकम नआएपछि चिसो मौसममा आफूहरूले न्याना कपडा खरिद गर्न नपाएको उनीहरूको गुनासो छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीका कारण समयमा भत्ता पाउनबाट वञ्चित हुनुपरेको उनीहरूले बताए ।
रौतहटका विभिन्न स्थानीय तहले समयमा वृद्ध तथा पोषण भत्ता वितरण गर्न सकेका छैनन् । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन बाध्य भएको चक्काजाम गर्नुपरेको उनीहरूले दाबी गरे । गरुडा नगरपालिकाले यो महिनाभित्रै रोकिएको सामाजिक भत्ता लाभग्राहीको खातामा राख्ने बताएको छ ।