दाङ– दाङको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् कार्यसमितिले तमु ल्होसार पर्व अवसरमा सार्वजनिक बिदा दिने मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
परिषद् कार्यसमिति राप्ती पालिका अध्यक्ष लुमबहादुर गुरुङ, सचिव रिमबहादुर गुरुङ तथा अन्य पदाधिकारीसहितको टोलीले स्थानीय सरकारले सार्वजनिक रूपमा तमु ल्होसार पर्व अवसरमा बिदा दिनुपर्ने माग गरेको हो । तमु ल्होसार पर्व अवसरमा पुरानो ल्वों ल्होंलाई बिदाइ गर्दै नयाँ तो ल्होंलाई स्वागत गर्ने गरिन्छ ।
तमु ल्होसार गुरुङ जातिको चाड हो । यो नेपालसहित विश्वका विभिन्न देशमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो पर्व पुसको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरुङ समुदायलाई तमु नामबाट पनि सम्बोधन गर्ने चलन छ ।
तमु ल्होसारले गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ संवत् सुरु भएको संकेत गर्दछ । १५ दिनसम्म मनाइने यो पर्वमा पहिलो दिन व्रतालुले आफन्त, घरपरिवार, इस्टमित्रसँग ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाउने चलन छ ।
ल्होसारका दिन गुरुङ समुदायका मानिस आफ्नै शैलीका भेषभूषा शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यूलगायतमा सजिन्छन् भने पुरुषले शिरमा टोपी, भोटोमाथि भांग्रो लगाउँछन् । कछाड अनि पटुकी पनि बाँध्छन् ।