खोटाङ–खोटाङमा अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२१ का अवसरमा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा स्वरोजगार भएका पाँच युवालाई नगदसहित सम्मान गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका आयोजना तथा बालसेवा समाज नेर्पाद्वारा सञ्चालित हेल्भेटास नेपालको प्राविधिक सहयोग र सुरक्षित आप्रवासन परियोजना सामीद्वारा शनिबार आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उनीहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ शोल्माका दुर्गाबहादुर राई र भोजकुमार श्रेष्ठले इलेक्ट्रिसियन प्लम्बिङ व्यवसाय गर्दै आएका छन् शोल्माकै कासकुमार राई प्लम्बिङ मेसिन व्यवसायी हुन् । यस्तै, वडा नम्बर ६ नेर्पाका रोशन राई ग्रिल व्यवसाय हुन् भने वडा नम्बर १४ बुइपाका दीपेन्द्र उदास बंगुर फार्म सञ्चालक हुन् ।
सम्मानित हुनेलाई ५ हजार बराबरको सामग्री र १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको बालसेवा समाज नेपाल नेर्पाकी अध्यक्ष भन्द्रकला भुजेलले बताइन् ।
सम्मानित हुनेलाई नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले चेक र सम्मानपत्र प्रदान गरे ।
वैदेशिक रोजगारीमा गएर सीप आर्जन गरी आफ्नै गाउँ फर्किएर आत्मर्निभर बनेर अन्य युवालाई पनि रोजगारी दिन सफल युवा व्यवसायीलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको नगरप्रमुख रिजालले बताए । अन्तर्राष्ट्रिय आप्रवासी दिवस अवसरमा सम्मानका अलावा सामीले सुरक्षित आप्रवासनका लागि सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।
अन्तरक्रियामा सहभागीले वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन घरपरिवार, समाज र स्वयं वैदेशिक रोजगारमा जाने व्यक्ति नै जिम्मेवार हुनुपर्ने सहभागीले बताए ।