दाङ– दाङको घोराही उपमहानगर वडा नम्बर १९ राम्चेमा रहेको कोइलाखानीमा तिर्साङका ४५ वर्षीय मोहनलाल कामीको ११ फागुन ०७७ मा कोइला निकाल्ने क्रममा मृत्यु भयो । खानीमा माथिबाट खसेको कोइलाले च्यापेर उनको मृत्यु भयो ।
१३÷१४ वर्षदेखि कोइलाखानीमा कोइला खन्ने काम गर्दै आएका कामीको घरमा १९ दिनको नानी थियो । त्यो घटनाले श्रीमती शान्तिका आँखा अझै ओभाएका छैनन् । गाउँघरमा अन्य कामका लागि अवसर नहुने एवं घरपरिवारको रेखदेख र जिम्मेवारी भएका कारण कामीले ०५६÷५७ देखि कोइला खन्ने काम गर्दै आएका थिए ।
कामीले दैनिक करिब १ सयदेखि १ सय ८० मिटर भित्रसम्म पसेर कम्तीमा ८ घन्टासम्म काम गर्थे । काम गरेबापत उनलाई कोइला उत्खनन जिम्मा पाएको सत्यसाई कोल उद्योगले प्रतिक्विन्टल १४० रुपैयाँ दिन्थ्यो ।
पहाडभित्र सुरुङ खनेर कोइला खन्ने काम जोखिमपूर्ण भए पनि घरको कमजोर आर्थिक स्थितिका कारण उनलाई जोखिमपूर्ण काम गर्नु विवशता थियो । हरेक दिन बिहान ८ बजे कोइलाखानीभित्र पस्ने उनी ११ बजे खाना खान बाहिर निस्कन्थे ।
खाना खाएर केही समय विश्राम गरेपछि पुनः १ बजेतिर भित्र पसेपछि ५ बजे निस्कन्थे । मोहनलालको करिब १३÷१४ वर्षदेखिको दैनिकी यसरी चलिरहेको थियो । सानी छोरीसहित ५ जनाको परिवार पाल्ने जिम्मेवारी अहिले शान्तिको काँधमा थपिएको छ । ‘ठूली छोरीको विवाह भइसकेको छ । ठूलो छोरा १३ र कान्छो छोरा ५ वर्षका भए । माइली छोरी ७ वर्ष पुगी’, शान्तिले भनिन्, ‘घरमा उत्पादन हुने अन्नपातले १ महिना पनि खान पुग्दैन । कमाउने मान्छेलाई कोइला खानीले खायो । अब कसरी घर चलाउने ?’
घोराही उपमहानगर वडा नम्बर १९ का ४५ वर्षीय भक्तबहादुर घर्तीले दुई दशकदेखि कोइलाखानीमा काम गदै आएका थिए । २६ मंसिर ०७८ मा कोइलाखानीको सुरुङभित्रै निस्सासिएर उनको मृत्यु भयो । उनकी श्रीमती दूरपति रानाले आइतबार आफ्ना श्रीमान भक्तबहादुर घर्तीसँग लामो कुराकानी गरेकी थिइन् । त्यो कुराकानी नै उनका लागि अन्तिम हुन पुग्यो ।
घोराही उपमहानगर वडा नम्बर १ काउले दाङ्जास्थित पशुपति कोइलाखानी उद्योगमा भक्तबहादुरले बिहानको खाजा खाएर सुरुङमा छिरेर दिउँसो खाना खान फर्किनु थियो । सँगै गएका अरू साथीहरू पनि उनीसँगै खाना खाने गरी सुरुङ छिरेका थिए । केही अलि पछि थिए तर भक्तबहादुर अगाडि भएका बेला अचानक माथिबाट भत्किएको चट्टानले उनलाई च्याप्यो ।
घटनालगत्तै सँगैका साथीहरूले हारगुहार गरे । हतारहतार घटना स्थथलबाट उद्धार गरी घोराहीकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । ‘अघिल्लो दिन आफू ठीकै रहेको, चिन्ता नगर्न भन्दै घरका छोराछोरी र आफ्नो ख्याल गर्नू भन्दै सम्झाएको अझै झलझली गुन्जिरहेको छ’, रानाले भनिन् । सोमबार श्रीमानको अकल्पनीय निधनपछि भावविह्वल अवस्थामा प्रहरी कार्यालय दाङमा भेटिएकी दूरपति भक्कानिइन् ।
उनले भनिन्, ‘मेरो जीवनमा दैवले पटक–पटक प्रहार ग¥यो । अब कसको मुख हेरेर बाँच्नू !’ भक्तबहादुरले दूरपतिलाई १ पुसमा घर आउने वाचा गरेका थिए । ‘उहाँले १ पुसमा आउने कुरा गर्नुभएको थियो । मैले आउनुस् भनेकी थिएँ । १ पुस १ मा आउँछु भनेर फोन राख्नुभएको हो । तर, अब त्यो १ पुस कहिल्यै आउने भएन’, दूरपतिले रुँदै भनिन् ।
भक्तबहादुरकी पहिलो श्रीमतीको निधनपछि दूरपतिलाई ३ वर्षअघि दोस्रो श्रीमतीको रूपमा घर भित्र्याएका थिए । दूरपतिले पनि श्रीमान्को मृत्यु भएकाले दास्रो बिहे गरेकी थिइन् । आउँदो वैशाखमा विवाह भएको ३ वर्ष पुग्दै छ । घरको जिम्मेवारी अनि छोराछोरीको रेखदेखको अभिभाराले दूरपतिलाई सताउन थालेको छ । दूरपतिका पहिलेको श्रीमान्बाट २ छोरा र १ छोरी छन् ।
भक्तबहादुरका ४ छोरी र २ छोरा छन् । ३ छोरीको बिहे भइसक्यो । घरको सबै जिम्मेवारी दूरपतिकै काँधमा छ । यस्ता पीडादायी घटना हरेक वर्ष दोहोरिइरहन्छन् । कोइलाखानीमा काम गर्नेका परिवारले कष्ट बेहोर्नुपर्ने नियति बनेको छ । भक्तबहादुरकै जस्तै हरेक वर्ष यस्तै घटना हुन्छन् । खानीभित्रबाट कोइला निकाल्ने काम निकै जोखिमपूर्ण छ तैपनि यसो नगरी मजदुरको जीविका चल्दैन ।
घोराही र बंगलाचुलीका उत्तरी भेगका खानीमा सयौँ मजदुर आफ्नो ज्यान हत्केलामा राखेरै कोइला निकाल्न विवश छन् । बाँचेर फर्किने आशा बोकेर सुरुङभित्र पस्ने उनीहरू कहिल्यै आफ्नो जीवनप्रति निश्चिन्त हुन सक्दैनन् । कुनै ठूलो उपकरण नभएका उनीहरूले छिनो, हथौडा, बेल्चाकै भरमा बाटो खोतल्छन् । तैपनि तिनलाई सुरक्षा र सतर्कताबारे केही सिकाइएको छैन ।
खानीमा ढुंगा–माटो खस्न थाले, रोक्ने उपाय छैन । कतै–कतै काठको टेको लगाइए पनि त्यो भरपर्दो हुँदैन । कतै बोरा राखेर अड्याइएको हुन्छ । मापदण्डबिनै कोइला खन्दा कतिबेला कहाँ भत्किन्छ, केही थाहा हुन्न । त्यही भएर हरेक दिन सुरुङबाट निस्किपछि युद्ध जितेजस्तो उनीहरू महसुस गर्छन् ।
बितेको १० वर्षे अवधिमा खानीमा आधा दर्जन बढीको मृत्यु भइसकेको छ । कयौँ घाइते भएका छन् । आफ्नै आँखाअगाडि सँगै काम गरिरहेका साथीको मृत्यु भएपछि धेरैले यो काम नगर्ने निधो गर्छन् । तर, पेट पाल्न समस्या भएपछि बाध्यताले उही गैती, बेल्चा उठाउन बाध्य छन् ।