close

अपांगता अधिकार ऐन कार्यान्वयन गर्न महासंघको माग

अपांगता अधिकार ऐन कार्यान्वयन गर्न महासंघको माग

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रिय अपांग महासंघ नेपालले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । ३०औँ अन्तर्राष्ट्रिय अपांगता दिवस अवसरमा गरिएको अन्तरक्रियामा महासंघले यस्तो माग राखेको हो । 


महासंघले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको सहकार्यमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को कार्यान्वयनमा देखिएका चुनौती र कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया गरेको थियो । 


कार्यक्रममा महासंघ उपाध्यक्ष रमेश लामाले उक्त ऐनको तत्काल प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । ऐनमा अपांगता भएका व्यक्तिलाई विभिन्न सेवा–सुविधा दिइने भने पनि अहिलेसम्म कार्यान्वयन नगरिएको उनले जानकारी दिए ।

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव तथा अपांगता अधिकार प्रवद्र्धन शाखा प्रमुख जमुना मिश्रले ऐन कार्यान्वयनमा सरकारको मात्र नभएर नागरिकको पनि उत्तिकै भूमिका हुुने बताइन् । ऐन कार्यान्वयनमा सबैले पहल गर्नुपर्ने उनको भनाइ छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्याको १० देखि १५ प्रतिशत मानिस अपांग छन् । तर, नेपालमा भने यसको ठोस तथ्यांक छैन ।

 

सोही तथ्यांकलाई आधार मान्दा नेपालमा झन्डै ३० लाख मानिसले यस्तो जीवनयापन गरिरहेका छन् । राष्ट्रिय जनगणना २०६८ ले नेपालमा १ दशमलव ९४ प्रतिशत मात्र अपांगता भएको देखाएको छ ।