काठमाडौं– ललितपुर महानगरले मंगलबजारस्थित नःबहाल चक्रबहीलमा म्ह पूजाको दिन आगलागीमा परी मृत्यु तथा घाइते भएकाको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । ललितपुर महानगर वडा नम्बर १२ स्थित मंगलबजार, चक्रबहीको घरमा गत १९ कात्तिकमा आगलागी भएको थियो । दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहेका एकै घरका चारको मृत्यु, दुई घाइते भएका थिए ।
महानगरीय विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले प्रभावित परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले आगलागीमा परेर घाइते भएका सबैको औषधोपचार खर्चसमेत महानगरले बेहोर्ने निर्णय गरेको छ ।
आगलागीमा परेको उक्त घर पुनर्निर्माणका लागि नक्सा पास गर्न लाग्ने राजस्व छुट दिने निर्णयसमेत उक्त बैठकले गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । ‘त्यो क्षति अपूरणीय हो, त्यसमा हामीले सहयोग गरेर घाउमा मल्हम मात्रै लगाउन खोजेका हौँ,’ महानगर प्रमुख महर्जनले भने । सहयोगले अग्निपीडित परिवारलाई केही राहत पुग्ने नगरप्रमुख महर्जनको भनाइ छ ।
आगलागीमा परेर चार जनाले ज्यान गुमाएका थिए । नःबहाल चक्रबहीलका लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी भएको थियो । प्रहरीले सर्जमिन गरी उठाएको मुचुल्काअनुसार आगलागीमा करिब २० लाख रुपैयाँको क्षति अनुमान गरेको थियो । वडा नम्बर १२ का वडाध्यक्ष नारायणलाल अवालेले वडास्तरीय विपद् व्यवस्थापन समितिले घटनालगत्तै १ लाख रुपैयाँ सहयोग गरिएको जानकारी दिए ।
उनले घरबारविहीन भएकालाई महानगर र वडाले गरेको सहयोग महल्म भएको बताए । म्ह पूजाको दिन झ्यालमा बालेर राखेको दियोको आगोले झ्यालको पर्दा टिपेर सल्किएको आगो भान्सामा पुगेपछि ग्यास पड्किएको थियो । मृत्यु हुनेमा ६७ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रचना र १० वर्षका नाति निर्जल रहेका थिए ।
पाटन अस्पतालमा उपचारका लागि लगिएका लक्ष्मीकृष्णका ४२ वर्षीय छोरा निरज ताम्राकार केही दिनको उपचारपछि घर फर्किएका थिए । ३२ वर्षीया कान्छी छोरी सिर्जना ताम्राकार हालसम्म पनि उपचारकै क्रममा छन् । प्रहरीका अनुसार घटना हुँदा घरमा १० जना थिए ।