close

विश्व चर्पी दिवस मनाइँदै

विश्व चर्पी दिवस मनाइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं– हरेक वर्ष १९ नोभेम्बर अर्थात् आउँदो ३ मंसिरमा मनाइने विश्व चर्पी दिवस अवसर पारेर काठमाडौंमा छलफलसहितको गोष्ठी आयोजना गरिएको छ । युनिसेफ, वाटर एडलगायत संस्थाका प्रतिनिधिले सहभागिता जनाएको गोष्ठीमा चर्पीको आवश्यक्ता, सरसफाइ आदि विषयमा कार्यपत्र प्रस्तुत गरियो ।

 

खानेपानी मन्त्रालय र स्मार्ट वास सोलुसन्सको संयुक्त आयोजनामा भएको गोष्ठीमा खानेपानीमन्त्री उमाकान्त चौधरीले नेपालले सन् २००८ देखि दिवस मनाउँदै आएको बताए । स्वच्छ नेपाल निर्माण गर्न विपन्न र दलित समुदायमा जनचेतनामार्फत चर्पी विस्तार कार्यक्रम पु¥याउनुपर्ने आवश्यकता उनले औँल्याए ।


यसका लागि तीन वटै तहका सरकार र दातृ निकायको सहकार्य आवश्यक रहेको उनको धारणा छ । ‘खुला दिसामुक्त नेपाल भए पनि कार्यान्वयनमा चुनौती छ’, सरकारले घोषणा गरेर मात्रै कार्यक्रम कार्यान्वयन हुँदैन । त्यसका लागि सरोकारवाला निकाय र नागरिकको सहयोग चाहिन्छ’, मन्त्री चौधरीले भने । 

 

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य वज्राचार्यले काठमाडौंको होटलमा बसेर दिवस मनाइरहँदा दूरदराजका नागरिकले अहिलेसम्म चर्पीको सुविधा नपाएको बताइन् । त्यसका लागि सरकारसँगै सरोकारवाला निकायको ध्यान पुग्नुपर्ने उनको धारणा छ ।

 

‘शौचालय भएर मात्र हुँदैन, सुरक्षित तवरले प्रयोग गर्ने सुविधा उपलब्ध गराइनुपर्छ । नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि व्यावहारिक रूपमा कार्यान्वयन भएको छैन । अहिले पनि खुला ठाउँमा दिसापिसाब गर्नेहरू बढिरहेका छन् । यसका लागि जनचेतना बढाउनुपर्छ’, सचिव वज्राचार्यले भनिन् ।

 

गोष्ठी आयोजक स्मार्ट वास सोलुसन्सका अध्यक्ष इन्जिनियर रामदीप साहले बजार र राजमार्ग क्षेत्रमा शौचालय नहुँदा पनि समस्या भइरहेको बताए । सार्वजनिक चर्पी बनाउन स्थानीय सरकारले समस्या भोगिरहेको उनको भनाइ छ ।  ‘जग्गा अभाव छ । बढ्दो सहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर, त्यसको व्यवस्थापन सही ढंगले हुन सकेको छैन’, साहले भने ।