close

बनेपा नगरमा डिजिटल घरधुरी सर्वेक्षण

बनेपा नगरमा डिजिटल घरधुरी सर्वेक्षण

Trulli
ADVERTISEMENT

काठमाडौं– काभ्रेको बनेपा नगरपालिकाले स्मार्ट पालिकाको सहकार्यमा डिजिटल घरधुरी सर्वेक्षण गर्ने भएको छ । नगरभित्रका १४ वटा वडाका लगभग १५ हजार घरधुरीलाई डिजिटल सर्वेक्षणमार्फत समेट्न लागिएको हो ।


बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठले डिजिटल सर्वेक्षणमार्फत तथ्यांक संकलन गरी नगरपालिकाको स्थानीय तहको सबै तथ्यांक राखेर प्रविधिमैत्री बनाउन लागिएको बताए ।

 

प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले गणकले लिएर आएको विवरणको आधारमा नगरपालिकाको सत्यतथ्य विवरण उपलब्ध हुने बताए । 
उनका अनुसार यो सर्वेक्षणमार्फत योजनासँगै विकास निर्माणका कामलाई अगाडि बढाउन सहज हुनेछ ।


 
बनेपाको विषयगत शाखाअनुसारको प्रश्नपत्र योजना शाखा अधिकृत शर्मिला बन्जाडेले तयार पारेकी छन् भने नगरले घरघरमा गणक पठाएर डिजिटल घरदैलो सर्वे सुरु गर्ने र जियो प्वाइन्ट, घरमूलीको फोटोदेखि सम्पत्ति विवरणसम्मका तथ्यांक लिने योजनाअनुसार काम अघि बढाएको छ ।

 

स्मार्ट पालिकाका सह–संस्थापक राजानन्द माण्डव्यले डिजिटल सर्वेक्षणमार्फत नगरपालिकाको सम्पूर्ण विवरण संकलन गरेपछि नागरिकले लिनुपर्ने सेवा–सुविधा मोबाइलकै माध्यमबाट पाउन सक्ने जानकारी दिए । उनका अनुसार मोबाइलकै माध्यमबाट कर, राजस्व तिर्न सहज बनाउने प्रावधानसहित योजना बनाइएको छ ।

 

पहिलो चरणको डिजिटल घरदैलो अभियान सकिएपछि दोस्रो चरणमा वडाबाट लिने सिफारिस र राज्यलाई तिर्नुपर्ने कर पनि अनलाइनबाट गर्ने व्यवस्था मिलाउने नगरपालिको योजना छ ।


डिजिटल सर्वेक्षणका लागि गणकलाई तालिमसमेत दिइएको छ । स्मार्ट पालिकाका क्याम्पेन निर्देशक विवश महतले गणकलाई सर्र्भे, विवरण संकलन कसरी उपलब्ध विवरण सुरक्षित राख्ने, विवरणलाई डिजिटलाइज गर्नेलगायत विषयमा प्रशिक्षण दिइएको हो ।


नगरपालिकाले सर्भेबाट आएको तथ्यांक प्रयोग गर्ने विधि र कस्ता विषयमा घरमूली प्रश्न सोध्नेलगायत विषय स्मार्ट पालिका क्याम्पेन को–अर्डिनेटर आवेग केसीले प्रस्तुत गरे ।

 

स्मार्ट पालिकाले लगभग ७० बढी स्थानीय तहसँग सहकार्य गरी प्रविधिमैत्री सुशासन निर्माणका लागि काम गर्दै आएको छ । पूर्वको मेचीनगरदेखि पश्चिमको दार्चुला अपिहिमालजस्तो विकट पालिकामा समेत स्मार्ट पालिका प्रोजेक्ट चलिरहेको माण्डव्यले बताए । तालिममा नगरका वडाध्यक्षसहित शाखा अधिकृतको सहभागिता थियो ।