close

दाङका घर चहार्दै ८०४ गणक

दाङका घर चहार्दै ८०४ गणक

Trulli
ADVERTISEMENT

दाङ–राष्ट्रिय जनगणना २०७८ का लागि दाङमा ८०४ गणक नागरिकका घरघर पठाइँदै छ । जिल्ला जनगणना कार्यालय दाङका अनुसार चारदिने तालिम दिएर गणकलाई घरघर जनगणनाका लागि पठाइने भएको हो ।


‘मेरो गणना, मेरो सहभागिता’ नारासहित कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्य जनगणनामा राखिएको छ । जनगणना प्रविधि र विधि, नियम कानुन तथा संरचनागत रूपमा नयाँ शैली अपनाएर गरिनेछ । 


दाङका १० वटै पालिकामा खटिने गणकका लागि ५ स्थानमा तालिम सञ्चालन गरिसकिएको छ । ८०४ जना गणक खटिने जिल्ला जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए । सुरुमा ७१४ गणक आवश्यक पर्ने भनिए पनि जिल्लामा बसोबास गर्ने नागरिकको संख्या बढी देखिएपछि ९० जना गणक थपिएको उनले बताए । 


उनका अनुसार घोराहीमा २४५, तुलसीपुरमा २२१, लमही नगरपालिकामा ७२, बंगलाचुलीमा २५, दंगीशरणमा २६, बबईमा ३७, शान्तिनगरमा ३३, राप्तीमा ५८, गढवामा ४८, राजपुरमा २६ गरी ७९१ गणकलाई खटाइनेछ । विभिन्न संघ–संस्था, सुरक्षा निकायबाट १३ जना गरी ८०४ जनालाई जनगणनाका लागि खटाइएको प्रमुख पोखरेलले बताए । सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिएको छ । 


गणकले आउँदो २५ कात्तिकदेखि ९ मंसिरसम्म मूल गणना गर्नेछन् । गणकले प्रत्येक घरपरिवारमा पुगेर प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायत विवरण संकलन गर्नेछन् । 

 

दोस्रो चरणको गणनाअन्तर्गत सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, क्षमता र विपद्सम्बन्धी विवरण पनि संकलन गरिनेछ । 


सोही क्रममा घरको विवरण, पारिवारिक आयस्रोत र घरपालुवा पशुपक्षीको विवरण पनि संकलन हुनेछ । अपांगता भएकाहरूको प्रकृति छुट्याएर गणना गरिनेछ । 

 

जनगणनाबाट पालिकादेखि वडास्तरसम्मको लैंगिक तथा समावेशी तथ्यांक प्राप्त हुने भएकाले विकास निर्माण तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न र नीति योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 


३० भदौदेखि १८ असोजसम्म सुपरिवेक्षकले घर सूचीकरण गर्ने काम सकिइसकेका छन् । उक्त फारममा २० वटा सूचक समावेश गरिएका थिए ।
सूचकमा रहेर सुपरिवेक्षकले वडास्तरको सम्पूर्ण जनसांख्यिक, आर्थिक, सामाजिक, लैंगिकलगायत विभिन्न तथ्यांक संकलन गर्ने काम गरेको प्रमुख पोखरेलले जानकारी दिए ।

 

सुपरिवेक्षकको करिब २५ प्रतिशत काम सकिएको छ भने अब गणकको कामलाई अनुगमन गर्ने, वडामा सामुदायिक प्रश्नावली भर्ने काम र अन्तिम फाइल बुझाउने काम मात्र बाँकी रहेको पोखरेलको भनाइ छ ।


यसअघि २०५८ र २०६८ मा पूर्ण गणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यस पटक पूर्ण गणना विधिबाट जनगणना गरिनेछ ।
पूर्ण गणना विधिअन्तर्गत सबै घर–घरमा पुगेर तथ्यांक संकलन गरिने पोख्रेलले बताए । विगतमा बहुविधिबाट जनगणना गरिएको थियो । तर, यस पटक एकल विधिबाट गरिँदै छ ।