close

सेवा घरलाई नमोबुद्धको आर्थिक सहयोग

सेवा घरलाई नमोबुद्धको आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

काभ्रे– नमोबुद्ध नगरपालिकाले सडक मानवको उद्दार र व्यवस्थापनमा सक्रिय मानव कल्याण समाजको सेवा घरका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । 


नगरपालिकाले यो वर्षका लागि धुलिखेलमा रहेको सेवा घरलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको हो । यो वर्ष ३ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता गर्दै नगरपालिकाले बुधबार पहिलो किस्ताको रकम १ लाख ५० हजार रुपैयाँ सेवा घरलाई हस्तान्तरण गरेको छ ।


नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मानव कल्याण समाजकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईँलाई पहिलो किस्ताको सहयोग रकमको चेक हस्तान्तरण गरे ।


नगरपालिकाले अघिल्लो वर्ष सेवा घरलाई १ लाख ५० हजार रुपैयाँ सहयोग उपलव्ध गराएको थियो । सहयोग हस्तान्तरण गर्दै नमोबुद्ध नगर प्रमुख तिमल्सिनाले विगतमा पनि सेवा घरलाई सहयोग गरेको र आगामी दिनमा निरन्तरता दिइने बताए । 


तिमल्सिनाले मानव कल्याण समाजमा रहेकी एक बालिकाको अभिभावकत्वसमेत ग्रहण गरेका छन् । उनले गत वर्ष ती बालिकाको अभिभावकत्व ग्रहण गर्दै उनको अन्नप्राशनसमेत गराइदिएका थिए । 


तिमल्सिनाले जिल्लाका सबै पालिकाबीच सहकार्य गर्दै अलपत्र सडक मानवको उद्दार र व्यवस्थापनका लागि पहल अघि बढाउने बताए । यसका लागि पालिकाहरूको संयुक्त बैठक आयोजना गरिने उनले जानकारी दिए । 


नमोबुद्धका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले पुण्य कर्म निरन्तर गर्न र त्यसमा सहयोग गर्ने अवसर प्राप्त गरेकामा धन्यवाद दिँदै सेवा घरलाई आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले सडक मानवको उद्दार, व्यवस्थापन, पुनस्र्थापना तथा पारिवारिक पुनर्मिलनका लागि सेवा घरले गर्दै आएको कामको प्रशंसा गरे । 


बनेपा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य कृष्णमणि कुइँकेलले सेवा घरले सडक मानवको उद्दार र व्यवस्थापनका लागि गरेको सहयोगमा थप हौसला प्रदान गर्न अक्षय कोष स्थापना गरिएको जानकारी दिए । 


कुइँकेलले अक्षय कोषलाई १ करोड रुपैयाँसम्मको बनाउने बताउँदै त्यसमा सहयोगका लागि दाताहरूलाई आह्वानसमेत गरे । सेवा घरकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंले सेवा घरमा बालबालिकादेखि वृद्धवृद्धासम्म रहेको र तिनको उचित व्यवस्थापनका लागि भौतिक पूर्वाधारलगायत अभाव रहेकाले त्यसमा सहयोगका लागि सबैलाई आग्रह गरिन् ।


नमोबुद्धले गरेको सहयोगप्रति उनले आभार प्रकट गरिन् । नमोबुद्धले सेवा घरसँगकै सहकार्यमा नगरपालिकाको भकुन्डे बजार तथा आसपास क्षेत्रमा अलपत्र आधा दर्जन सडक मानवको उद्दार गरिसकेको छ ।