close

संस्कृति प्रवद्र्धनमा भार्से

संस्कृति प्रवद्र्धनमा भार्से

Trulli
ADVERTISEMENT

गुल्मी भार्सेका यमबहादुर छन्तेल सोरठीका कलाकार हुन् । ७४ वर्षीय उनी सोरठीका गुरुबा हुन् । सोरठी, झ्याउरे, सालैजो र दोहोरीमा छन्तेल अब्बल छन् । समूहमा उनी सोरठी गीत निकाल्छन् अनि तन्नेरीले समाउँछन् । 


अहिले उनलाई एउटै पिरलो छ । यो कला र संस्कृति नयाँ पुस्तालाई कसरी हस्तान्तरण गर्ने ? ‘मेला महोत्सवमा युवालाई सँगै राखेर सोरठी गाउँछु,’ उनी भन्छन् ।
सोरठी नाच गुरुङ र मगर समुदायमा निकै प्रख्यात छ । यो नाच ठूलो समूहमा नाच्ने गरिन्छ । ‘दिनभरको थकान मेट्न र मनको भावना पोख्न नृत्य गर्ने गरिन्छ,’ छन्तेल भन्छन् । 


सोरठीको अर्थ, ‘सोह्र सुन्दर रानी’ भएको उनी बताउँछन् । ‘१५ रानी र एक राजकुमारी गरी सोह्र स्त्रीसँग सम्बन्धित भएकाले सोह्र वटी भन्दाभन्दै यसको नाम सोरठी भएको हो,’ उनी भन्छन् । 


भार्से गाउँका नारायण विक छन्तेल पछिका आशालाग्दा कलाकार हुन् । गाउन र बजाउन अब्बल विकले कला पुस्तान्तरण भइरहेको बताउँछन् । ‘कला पुस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो,’ उनी भन्छन्, ‘छन्तेल बापछि मैले सिकेँ । मैले अरूलाई सिकाइरहेको छु ।’ विद्यालय र क्याम्पस पढ्ने विद्यार्थीलाई परम्परागत कलाको अध्ययन र सीप हस्तान्तरण गर्न सके संस्कृति लोप हुनबाट बचाउन सकिने उनी बताउँछन् । ‘सोरठी अरू गीत र नाचजस्तो सजिलो छैन,’ विक भन्छन्, ‘यसको कुनै लिपि नभएकाले गला–गलामार्फत पुस्तान्तरण भएको हो ।’ सोरठीमा चार जना मारुनी, चार मादले, एक पुरुसुङे र आवश्यताअनुसार गाउने हुन्छन् ।
प्रायः कृष्ण जन्माष्टमीमा देखाइने कृष्णचरित्र भार्सेको प्रख्यात कला र संस्कृति हो । जिल्लाका अधिकांश ठाउँमा संकटमा परिरहेको यो कला भार्सेमा भने जीवित छ । पाको पुस्तादेखि नयाँ पुस्ताले यो गीत र नृत्य प्रस्तुत गर्ने गरेका छन् । 


२३ वर्षीया सुशीला दलार्मीलाई कृष्णचरित्र कण्ठै छ । बुबा चिन्तारामले पनि कृष्णचरित्र गाउँछन् । उनीबाटै छोरीले पनि सिकेकी हुन् । अहिले उनी समूहमा गीत गाउँदै हिँड्ने गर्छिन् । उनले १७ वर्षीया एन्जिला गलामीलाई पनि सँगसँगै हिँडाउने गर्छिन् । ‘यसो गर्दा उनले पनि सिक्न सक्छिन्,’ दलार्मी भन्छिन् । 


कृष्णचरित्र, सोरठी, सालैजोलगायत भार्सेली समुदायको इतिहास र गौरव हुन् । चाडपर्वमा यी गीत र नृत्य प्रस्तुत गरिन्छ । मेला–महोत्सवमा माग भए बाहिर जाने गरिएको सत्यवती गाउँपालिका ८ भार्सेका वडाध्यक्ष सन्तकुमार थापा बताउँछन् । ‘भार्सेली जनजाति समुदायको पहिचान भएकाले स्वतःस्फूर्त रूपमा देखाउने गरिएको छ,’ उनी भन्छन् । 


तीन वर्षयता भार्सेमा होम–स्टे सञ्चालन भएकाले पाहुनाको मागअनुसार सोरठी देखाउने गरेको उनी बताउँछन् । संस्कृति र होम–स्टेको प्रवद्र्धनमा गाउँपालिकाबाटै विशेष योजना बनाउनुपर्नेमा आपूmहरू लागिपरेको थापा बताउँछन् ।