महोत्तरी– हरेक वर्षको २५ नोभेम्बर अर्थात् १० देखि २५ मंसिरसम्म मनाइने १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत महोत्तरीमा कार्यक्रम सार्वजनिक गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैंगिक हिंसा निवारण शाखाले यो वर्ष १६ दिने अभियान सफल बनाउन सरोकारवाला निकायलाई आह्वान गरेको छ ।
महिला हिंसाविरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाउन देशैभरका स्थानीय तहले आ–आफ्नै तयारी थालेका छन् । महोत्तरीका १५ वटै स्थानीय तहले पनि १६ दिने अभियानलाई प्रभावकारी बनाउन गृहकार्य सुरु गरेका छन् ।
बर्दिबास नगरपालिकाले बुधबार नगरभरिका महिला सञ्जालको बैठक आह्वान गरी कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । लैंगिक हिंसासम्बन्धी अन्तरक्रिया र छलफल चलाउनेदेखि अपांगता भएका महिलाका लागि सहयोग गर्ने कार्यतालिका सार्वजनिक गरिएको बर्दिबास नगरपालिकाले जनाएको छ ।
नेपालले २०५४ देखि अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर १६ दिने अभियान मनाउन सुरु गरेको हो । २९ कात्तिक २०७५ मा प्रतिनिधिसभाको बैठकले १६ दिने महिला अभियान मनाउने निर्णय गरेसँगै हरेक वर्षको १० देखि २५ मंसिरसम्म देशैभर विभिन्न कार्यक्रम गरिँदै आएको छ ।
अघिल्लो वर्षको १६ दिने अभियानमा पनि महोत्तरी र धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट उपसचिव सरिता रायमाझीको संयोजकत्वमा विभिन्न अन्तरक्रिया, छलफल तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भएका थिए ।
तर, महोत्तरीमा अझै जनचेतना तथा अन्धविश्वासका कारण महिला हिंसाका घटना न्यूनीकरण हुन सकेका छैनन् । पछिल्लो २ महिनायता मात्रै बोक्सीको आरोपमा एक महिलालाइ मलमूत्र खुवाइएको छ भने अर्की एक महिलालाई बोक्सी लागेको भन्दै हथौडाले हिर्काएर हत्या गरिएको घटना सार्वजनिक भएको छ ।
महिला हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता नजनाएसम्म १६ दिने अभियान सार्थक नहुने स्वयं महिला नै बताउँछन् । प्रदेशसभा सदस्य तथा महोत्तरीकी जनप्रतिनिधि शारदादेवी थापा लैंगिक हिंसालाई न्यूनीकरण गर्न सबैभन्दा पहिले समाज खुला हुनुपर्ने तर्क गर्छिन् । १६ दिने अभियानलाई सफल बनाउन जनचेतनाका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने थापाको जिकिर छ ।