close

हुम्लाका ४९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन

हुम्लाका ४९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन

Trulli
ADVERTISEMENT

हुम्ला– पछिल्लो १८ वर्षमा चार सय ९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले पछिल्लो १८ वर्षमा हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर मुलुकका विभिन्न जिल्लामा लैजाँदै गरेको अवस्थामा ती बालबालिकालाई उद्धार गरी परिवारमा पुर्नमिलन गराएको हो । 

 

निःशुल्क पढ्न, लेख्न र बस्न दिने प्रलोभनमा पारेर जिल्ला बाहिर लैजाँदै गरेको बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने काम भइरहेको समाजका निर्देशक धनबहादुर लामाले बताउए । पछिल्लो समय निःशुल्क पढ्न, लेख्न र बस्न देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरूबाट समेत रकम असुल गरेको देखिएको छ । जिल्लाबाहिर नेपालगञ्ज, काठमाडौं, पोखरालगायत सहरमा रहेका बालगृहबाट राष्ट्रिय बालअधिकार परिषद् तथा सम्बन्धीत स्थानीय तहमार्फत् यहाँका बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको निर्देशक लामाले बताए । 

 

निःशुल्क गुणस्तरीय शिक्षाको बहानामा हुम्लाका विभिन्न गाउँबाट बर्सेनि धेरै बालबालिकाको बालगृहमा ओसारपसार हुने गरेको छ । बालबालिका र उनीहरुको अभिभावकलाई अनावश्यक प्रलोभन देखाई बालगृहमा भर्ना गर्ने प्रचलन बढेकाले सम्बन्धित निकायले यस सम्बन्धमा चासो दिनुपर्ने उनको भनाइ छ । कमजोर आर्थिक अवस्थाका कारण पढाउन नसक्ने अवस्था भएपछि अभिभावकलाई अनावश्यक प्रलोभन देखाएर यहाँबाट लगेका बालबालिकालाई मुलुकका विभिन्न पर्यटकीय क्षेत्रबाट अलपत्र अवस्थामा उद्धार गरिएको उनले बताए ।  

 

पछिल्लो १८ वर्षमा जोखिमपूर्ण कार्यमा संलग्न रहेको अवस्थामा हुम्लाका चार सय ९४ बालबालिकालाई मुलुकका विभिन्न स्थानबाट उद्धार गरी परिवारमा पुनर्मिलन गराएको निर्देशक लामाले बताए ।  उनले भने, ‘सबैभन्दा बढी मुलुकका विभिन्न पर्यटकीय क्षेत्रबाट बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ ।’ उद्धार गरेका बालबालिकामध्ये ९२ जनालाई समाजले आफ्नो संरक्षणमा राखिएको निर्देशक लामाको भनाइ छ । उनका अनुसार समाजको संरक्षणमा रहेका बालबालिकामध्ये ५२ जनाको आर्थिक अवस्था अत्यन्त दयनीय रहेको छ । उद्धार गरिएका बालबालिकाको अवस्था अनुसार उनीहरुलाई गुणस्तरीय शिक्षा, आयआर्जनलगायत क्षेत्रमा समाजले सहयोग गर्दै आएको उनले बताए ।  

 

निर्देशक लामाले भने, ‘राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय तहको समन्वयमा अलपत्रल परेका बालकालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएका छौं, पुनर्मिलन गराएपछि पनि अधिकांश बालबालिकालाई समाजले आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।’ मुलुकका ६७ जिल्लामा बालबालिकाको क्षेत्रमा समाजले काम गर्दै आएको र ती जिल्लाबाट अहिलेसम्म एक हजार ६९ बालबालिकाको उद्धार गरी परिवारमा पुनर्मिलन गराएको उनले बताए । सबैभन्दा बढी हुम्ला, मुगु, सुर्खेत, धादिङ्, सिन्धुपाल्चोक र जुम्लालगायतका जिल्लाबाट बालबालिकालाई उद्धार गरिएको उनको भनाइ छ । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ विपरीत सञ्चालन रहेका बालगृहबाट अधिकांश बालबालिकालाई उद्धार गरिएको बताइएको छ । 

 

बालबालिकाको अभिभावकत्व राज्यले गर्नुपर्छ 
बालबालिकाको अभिभावकत्व राज्यले गर्नुपर्ने एक कार्यक्रमको बक्ताहरुले बताएका छन् । उनीहरुले बालकालिका ओसारपसार गर्नु सामाजिक अपराध भएको बताउँदै आमाबुबासँग बसेर हुर्किन पाउनु बालबालिकाका पहिलो अधिकार भएको बताएका हुन् ।

 

हिमाली नविन समाजले आयोजना गरेको यस क्षेत्रमा कार्य गरिरहेका जिल्लाका विभिन्न संघस्थासँगको समन्वयात्मक बैठकमा उनीहरुले गरिबीकै कारण बालबालिका बालगृहमा पुग्ने गरेको हुँदा उनीहरुको नैसर्गिक अधिकारको राज्यले ग्यारेण्टी गनुपर्नेमा जोड दिए। ‘राम्रो शिक्षा दिने भन्दै लोभ देखाएर अभिभावकले भेडा, घोडा बेच्न बाध्य बनाएर बालबालिका बालगृहमा आइपुगेका छन्,’ समाज सिमकोटका प्रमुख नवराज रावतले भने, ‘बालगृहमा यौन दुव्र्यवहार र कुटपिटका घटना पनि हुने गरेको हुँदा आफ्ना बालबालिकाका विषयमा अभिभावक पनि गम्भीर हुनुपर्छ ।’

 

उनले स्थानीय सरकारले राम्रो शिक्षा र स्वास्थ्य दिए कोही बालगृहमा नआउने उल्लेख गर्दै अभिभावकसँग बस्नु पाउनुपर्ने बालबालिकाको पहिलो अधिकार भएको बताए। बैठकमा एसआईडिसी, सप्रोस नेपाल, हेड नेपाल, किर्डाक नेपाल, आधार विकास, हिमाली नविन समाज, नेपाल अस्टिया साँझेदारी संस्थालगायत सहभागिता थियो ।