close

सहरी दिवस मनाइँदै 

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालमा यो वर्षको विश्व सहर दिवस ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ नारासहित मनाइने भएको छ । 

 

स्थानीय तह, काठमाडौं उपत्यका विकास प्राधिकरण, राप्ट्रिय आवास कम्पनी, नगर विकास कोष, संयुक्त राष्ट्रसंघीय बसोबास कार्यक्रम, इन्जिनियरिङ अध्ययन संस्थान, नेपाल नगरपालिका संघलगायत विभिन्न गैरसरकारी संघ–संस्थाको उपस्थितिमा दिवस मनाउन लागिएको भवन विभागका सिडिई ईश्वरराज जोशीले जानकारी दिए । 

 

सहरी विकास मन्त्रालयअन्तर्गत भवन विभागमा आउँदो आइतबार दिवस मनाइने भएको हो । उक्त कार्यक्रममा पूर्वराष्ट्रिय योजना आयोग उपाध्यक्ष, डा. जगदीशचन्द्र पोखरेल, प्राडा. संगीता सिंह, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटालगायतले कार्यपत्र प्रस्तुत गर्नेछन् । 


अहिले विश्वका विकासोन्मुख देशबाट हरितगृह ग्यासको कुल उत्सर्जनको ४ प्रतिशत मात्र उत्सर्जन हुने गरेकाले उत्सर्जनमा गरिबको भूमिका न्यून भए पनि गरिब नागरिक बढी प्रभावित भएका छन् । 


बढ्दो तापक्रम र वर्षामा घटबढ भएकाले पीडितको संख्या बढेको छ । योसँग लड्ने तथा भिड्ने क्षमता न्यून भएको र जलवायु परिवर्तनको समस्या विकराल बन्दै गएको छ । नेपाल जलवायु परिवर्तनको नकारात्मक प्रभावको जोखिम उच्च रहेका राष्ट्रमध्ये एक हो । 


नेपालमा केही दशकयता बाढीपहिरो, डढेलो तथा खडेरीजस्ता जलवायुजन्य प्रकोपका कारण ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ भने कृषि, जलस्रोत, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा तथा पूर्वाधार विकासका क्षेत्रमा समेत जलवायु परिवर्तनका प्रतिकूल प्रभाव देखापरेका छन् । 


२०१५ को जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुसार कार्बन उत्सर्जन घटाई जलवायु परिवर्तन निर्धारित सीमाभित्र राख्न सहरी व्यवस्थापन मुख्य चुनौती रहेको हुँदा यसमा विशेष ध्यान दिनु जरुरी भएको विश्व सहरी दिवस २०७८ का संयोजक विष्णुमणि शर्माले जानकारी दिए ।


‘राष्ट्रिय सहरी नीति, २०६४ ले सहरीकरणका विविध चुनौतीलाई एकीकृत एवं समन्वयात्मक रूपमा सम्बोधन गरेको छ,’ उनले भने, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई मौलिक हकको रूपमा उल्लेख गरेको छ । संविधानले दिएको अधिकारलाई सम्बोधन गर्न स्वच्छ, सुरक्षित र समृद्ध सहरी वातावरणको सिर्जनाद्वारा सहरी वासिन्दाको जीवनस्तरमा सुधार ल्याउन सहरी विकास मन्त्रालय र सोअन्तर्गतका सबै निकाय प्रयासरत छन् ।’ 

 

सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणमा काठमाडौं उपत्यकामा जलवायु उत्थानशील विकासका लागि सहरी इकोसिस्टममा आधारित अनुकूलनसम्बन्धी आयोजना सञ्चालनमा आएको शर्माले जानकारी दिए ।

 

यसैगरी सहरी विकास तथा भवन निर्माण विभागद्वारा नयाँ सहर विकास कार्यक्रम, स्मार्ट सिटी विकास कार्यक्रम, रणनीतिक योजना तथा विभिन्न नगरपालिकाहरूमा एकीकृत सहरी विकास योजना तयार गर्ने कार्य गर्दै आएको उनको भनाइ छ ।