काठमाडौं– नवरात्रको नवौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विनशुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।
दोस्रो दिन पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघन्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजाआराधना गरियो ।
छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो । दुर्गापक्षको आठौँ दिन महागौरी देवीको विशेष पूजाआराधना गरियो ।
दुर्गापक्षको नवौँ दिन वा नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।
नवरात्र अवसरमा देवीको आराधना गरी पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
सिद्धिदात्री देवीको स्वरुप
मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरे मनकामना पूरा हुने धार्मिक विश्वास छ ।
दुर्गा देवीका नौ नाम स्वयं ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरण मात्र गर्नाले जुनसुकै कष्ट वा संकटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ । हिन्दु धर्मावलम्बीले यो दिन विभिन्न शक्तिपीठ एवंं घरघरमा बलिसहित पूजाआराधना गरी विशेष रूपमा मनाउँछन् ।