जुम्ला– नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि हिँडेको भे१ख ३१६७ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बस मंगलबार दिउँसो पौने २ बजेतिर दुर्घटनामा परेको हो ।
मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाटप्ले खोलामा नेपालगन्जबाट गमगढी जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयको पछिल्लो तथ्यांकअनुसार २४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जनाको उद्दार गरी ताल्चा विमानस्थल पु-याउने क्रममा र ४ जनाको उपचारका लागि नेपालगञ्ज पु-याएपछि मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका ४ जना उपचारका क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको हो । उपचारका लागि पठाइएका १६ जना घाइतेमध्येबाट ४ जनाको मृत्यु भएको छ ।
‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पु-याउँदैमा मृत्यु भयो । बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौँ । थप ४ जनाको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर आएको छ,’ उनले भने । कठिन र भिरालो भूगोल भएकाले मृतकको संख्या बढी हुन सक्ने प्रहरीको भनाइ
छ ।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ पुरुष, ७ महिला र १ बालक छन् । अहिले १२ जनाको उपचार भइरहेको बाँके प्रहरीले बताएको छ । ३ जना हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समयअघि गाडीबाट ओर्लिएको प्रहरीको भनाइ छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको जानकारी दिए । प्रहरीले चालकको सिटमुनिको टायर पञ्चर भई दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । यद्यपि दुर्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले बताएको छ ।
बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु चढेका थिए ।
घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकोप्टर र समिट एयरमार्फत नेपालगञ्ज पु-याइएको थियो । मृतक मुगुको गमगढी, छायानाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको प्रहरीले जनाएको छ ।