close

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजाआराधना गरिँदै 

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजाआराधना गरिँदै 

Trulli
ADVERTISEMENT

काठमाडौं– नवरात्रको सातौँ दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

 

नवरात्रको पहिलो दिन असोज २१ बिहीबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो ।

 

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो चन्द्रघन्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो भने पाँचौँ दिन स्कन्दमाताको पूजाआराधना गरियो ।

 

छैटौँ दिन  कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा  दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्र अवसरमा देवीको आराधना गरी पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । 


यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । 

 

प्राणी मात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

 

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

 

नवरात्रको सातौँ दिन आज पूजाकोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ ।